जसपाले माग्यो उपराष्ट्रपति

फागुन ८, काठमाडौं  – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति पदमा चासो देखाएका छन्। पछिल्लो समय यादवले कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत प्रमुख दलका शीर्ष नेताहरूसँग त्यसबारे छलफल पनि गरेका छन्। यसैगरी उनले कांग्रेस नेता रामचन्द्र पौडेलसँग पनि भेटघाट गरेका छन्।

जसपा कार्यकारिणी समितिका सदस्य तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक पद जसपाले पाउनुपर्छ भन्ने पार्टीको लाइन रहेको बताए। उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा पार्टी सहभागी हुनेछ। यी दुईमध्ये एक पद जसपाले पाउनुपर्छ भन्ने हाम्रो माग हो।’ यादवनिकट एक नेताका अनुसार कम्तीमा उपराष्ट्रपति पद पाउनुपर्ने जसपाको माग हो।

मुख्य दलका शीर्ष नेताहरूसँग भएको भेटघाटमा यसै विषयमा छलफल केन्द्रित भएको ती नेताले बताए। स्रोतका अनुसार पौडेलसँगको भेटमा यादवले भनेका थिए, ‘राष्ट्रपति पदमा हामी तपाईंलाई सहयोग गर्न तयार छौं तर उपराष्ट्रपति हामीले पाउनुपर्छ।’ यादवले देउवासँग पनि यही अभिव्यक्ति दोहो¥याएका थिए। यसैगरी ओलीसँगको भेटमा पनि यादवले उपराष्ट्रपति पद माग गरेको स्रोतले बतायो।

जसपा स्रोतका अनुसार कांग्रेस सभापति देउवा, पौडेल तथा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई उपराष्ट्रपति पद दिने आश्वासन भने दिएका छैनन्। तर यसबारे सम्भावना अन्त्य नभएको पार्टी स्रोतको भनाइ छ।