राष्ट्रपति निर्वाचनका लागि बानेश्वरमा तोकियो मतदान स्थल

 

फागुन ७, काठमाडौ – निर्वाचन आयोगले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत र मतदान स्थल तय गरेको छ ।

आयोगले सोमबारदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो । राष्ट्रपतिको चुनावका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए । राष्ट्रपतिको निर्वाचन तालिका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि बुधवार १० गते मतदाता नामावली प्रकाशन हुनेछ ।

नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई आयोगले मतदान स्थल निर्धारण गरेको छ । मतदान स्थलमा दुई वटा केन्द्र रहने छन् । सहायक प्रवक्ता भुसालले राष्ट्रपति चुनावमा मतदान गर्न योग्य मतदाताको सूची सङ्घीय संसद् र सातवटै प्रदेशको प्रदेश सभा सचिवालयबाट प्राप्त भएको जानकारी दिए । तालिका अनुसार आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुनेछ । मतदानका लागि आउँदे १३ गते मनोनयन दर्ता हुनेछ । राष्ट्रपतिको चुनावमा सङ्घीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ। सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ हुनेछ ।

दलहरूले राष्ट्रपति उम्मेदवार कसलाई बनाउने टुंगो लगाइसकेका छैनन् । नेकपा एमालेले सहमतिअनुसार राष्ट्रपति सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा एमालेबाट उठाइने उम्मेदवार हुनुपर्ने अडान राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताइरहेका छन् । तर नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ भने उम्मेदवार टुंग्याएको छैन ।