अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड सुरु

फागुन २, तनहुँ  – तनहुँको दमौलीमा अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । हैरान्स क्लबको आयोजनामा सोमबारदेखि व्यास नगरपालिका–३ मा प्रथम अन्तरविद्यालय रनिङशिल्ड बास्केटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन १० खेल सम्पन्न भएको छ । छात्रतर्फ छ र छात्रातर्फ चार खेल सम्पन्न भएको खेल संयोजक उज्ज्वल भट्टराईले जानकारी दिए ।

छात्रतर्फ सत्यवती मावि र निर्मल माविबीच भएको खेलमा सत्यवती, बाराही कलेज र पराशर कलेजबीच भएको खेलमा बाराही, कन्काई एकेडेमी र आदिकवि भानुभक्त क्याम्पसबीच भएको खेलमा आदिकवि, सत्यवती मावि र दमौली कलेजबीच भएको खेलमा सत्यवती, व्यास बोर्डिङ र निर्मल माविबीच भएको खेलमा व्यास बोर्डिङ, व्यास बोर्डिङ र दमौली कलेजबीच भएको खेलमा व्यास बोर्डिङ विजयी भएको छ ।

छात्रातर्फ पराशर कलेज र दमौली कलेजबीच भएको खेलमा पराशर, सत्यवती मावि र बाराही कलेजबीच भएको खेलमा सत्यवती, बाराही कलेज र व्यास बोर्डिङबीच भएको खेलमा बाराही र व्यास बोर्डिङ र निर्मल माविबीच भएको खेलमा व्यास बोर्डिङ विजयी भएको छ ।

खेलमार्फत पर्यटन प्रवद्र्धन र बास्केटबल खेलाडी उत्पादन गर्ने उद्देश्यसहित बास्केटबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रविन पौडेलले बताएो । पछिल्लो समय जिल्लामा बास्केटबल खेलतर्फ आकर्षण बढ्न थालेकाले विद्यालयस्तरदेखि नै विद्यार्थीलाई बास्केटबलप्रति रुचि बढाउन प्रतियोगिता आयोजना गरिएको पौडेलको भनाइ छ ।

प्रतियोगिताको शुभारम्भ गर्दै व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले बास्केटबलको राम्रो सम्भावना रहेकाले अनुशासित भई कला प्रदर्शन गर्न आग्रह गर्नुभयो ।
क्लबका सल्लाहकार एवं वडा सदस्य सुरेश वाग्लेले बास्केटबलको सम्भावना भएकाले केही समय अगाडिमात्रै व्यास नगरपालिकाले राष्ट्रपति रनिङशिल्डमा बास्केटबल खेललाई समावेश गरेको बताउनुभयो । मङ्गलबारसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रतर्फ आठ र छात्रातर्फ छ विद्यालयको सहभागिता रहेको खेल संयोजक भट्टराईले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङशिल्ड ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगितामा छात्रतर्फ निर्मल माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कुल, दमौली कलेज, आदिकवि भानुभक्त क्याम्पस, कन्काई एकेडेमी, पराशर कलेज र बाराही कलेजको सहभागिता छ । छात्रातर्फ बाराही कलेज, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कुल, निर्मल माध्यमिक विद्यालय, दमौली कलेज, पराशर कलेज र कन्काई एकेडेमी बोर्डिङ स्कुलको सहभागिता छ ।