हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ– सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएकी छन् ।

नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा संयुक्तरूपमा आज आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विसं २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको छ भनिन् । उनले भनिन् “समयसापेक्ष सूचना प्रविधि र सङ्घीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको छ ।”

उनले ‘मिडिया’ क्षेत्रमा देखापरेको समस्याका बारेमा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि जानकारी लिने काम जारी रहेको बताउनुभयो । आगामी दिनमा पत्रकार र सञ्चार क्षेत्रको सवलीकरण हुने खालका कार्यक्रमलाई अघि बढाइने र सरकारी सञ्चारमाध्यमलाई प्रदेशस्तरमा व्यवस्थित गर्ने कामको थालनी गरिने उनले बताइन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले लोककल्याणकारी विज्ञापन कटौतीले साना मिडिया मारमा परेका जस्ता समस्या समाधान गर्न आग्रह गरिन्। कार्यक्रममा पत्रकार महासङ्घ दाङ शाखा पूर्वअध्यक्ष प्रताप रेग्मी, सल्लाहकार सुदीप गौतम, पूर्वकेन्द्रीय सदस्य अजयदीप शर्मालगायतले भनाइ राख्नुभएको थियो । पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले गरेकी थिइन् ।