‘म सही स्थानमा आइपुगेको छु र सही निर्णय गर्दछु’-उपसभामुख राना

सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना बहुमतले निर्वाचित भइन् । रानालाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका सत्ता गठबन्धनका दलहरूले समर्थन पश्चात उनले उपसभामुखको जिम्मेवारी पाएकी हुन । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा पहिलो पटक सांसद बनेकी हुन् । राजनीतिमा आउनु अघि उनी गैरसरकारी संस्था बन्दी सहायता नेपालको अध्यक्ष थिइन् । ३ दशकदेखि समाजसेवामा संलग्न रानाले विवशतामा जेलमा बस्न वाध्य सयौँ बालबालिकाको उद्धार गरेकी थिइन । उनको सामाजिक, राजनीतिक र उपसभामुख सम्मको जिम्मेवारीको बिषयमा इमेल खवरडटकमले गरेको कुराकानीको सम्पादित अंश ।

उपसभामुखको जिम्मेवारी पाउदा कस्तो महसुस गरिरहनु भएको छ ?
मेरो लागि यो ऐतिहासिक क्षण हो । साथै एउटा सौभाग्य पनि हो । सामाजिक कार्य गर्दै आएकी मैले अव राजनीतिक यात्रा पनि सुरु गरेकी छु । पदीय लोभले म राजनीतिमा आएको होइन् । तर संयोगबस एकैपटक सांसद हुदै उपसभामुखको जिम्मेवारी सम्हाल्न पाएकी छु । अब सामाजिक र राजनीतिक कामलाई एकसाथ अगाडि बढाउने योजनामा छु ।

राजनीतिमा आउन के कुराले प्रेरित ग¥र्यो ?
म लामो समय सामाजिक काममा लागे । जेल जिवन बिताइरहेका अबोध बालबालिकालाई नजिकबाट नियालेको छु । बन्दी सहायता नेपालकी अध्यक्षको जिम्मेवारी सम्हालिरहदा बच्चाहरुको इस्यु, उनीहरुको अवस्था मैले वुझेकी छु । त्यो अवस्था सुर्धानका लागि म राजनीतिमा आएको हो । राजनीतिमा लाग्नका लागि नया पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट पहल गर्न सकिन्छ भन्ने बिश्वासका साथ राजनीतमा इच्छा जागेको हो । सामाजिक काम गरेर मात्र बालबालिकाको अवस्था सुध्रिदैन यसका लागि नीति बनाउने स्थानमा आफै पुग्नुपर्दछ भन्ने महसुस भए संगै राजनीतिमा आएको हु ।

संसदमा तपाईको अबको भुमिका कस्तो हुन्छ ?
उपसभामुखको संबैधानिक अंगमा निर्णयक भुमिका हुने रहेछ भन्ने कुरा अहिले बुभेको छु । संवेदनशील भएर संसदका गतिबिधि अध्ययन गर्ने, निर्णय गर्ने मौका पाएको छु । म सही स्थानमा आइपुगेको छु र सही निर्णय गर्दछु भन्नमो प्रतिवद्ध छु । पार्टीको जिम्मेवारीबाट अलग भएर निष्पक्षता साथ निर्णय गर्नेछु । मेरो मुख्य जिम्मेवारी भनेको सभामुखलाई सहयोग र सहजीकरण गर्न हो । नेपालको संबिधानले उपलब्ध गराएका ब्यवस्थालाई प्रभावकारी र संसदलाई मर्यादित बनाउने प्रयास गर्नेछु ।

महिलाहरुलाई जिम्मेवारी कम हुने भएकाले उपसभामुखमा राखिन्छ भनेर आलोचना हुने गर्दछ नि ?
मलाई जिम्मेवारीको कुरामा महिला पुरुषको जिम्मेवारी फरक हुन्छ जस्तो लाग्दैन । पदमा पुगेर मात्र सबैथोक हुने भन्ने हुदैन । एउटा प्रजातान्त्रिक लोकतान्त्रिक संसदको कुरा हामी गरिरहेका छौं । यो ब्यवस्था भनेकै सबैको कुरा सुनिनु हो । त्यसकारण ठुलो पदमा हुदा आफ्नो कुरा सुनिने सानो पदमा हुदा नसुनिने भन्ने मलाई लाग्दैन । अवसर पाएर मुख्य जिम्मेवारी पाउनु पनि सफलता हो जस्तो लाग्दछ मलाई ।

महिला सांसदहरुसंग छुट्टै केहि गर्ने योजना छ की ?
महिला सांसदहरुसंग छुट्टै अन्तरक्रिया गर्ने योजनामा छु । सदनमा मात्र सबै कुरा उठ्दैन । यसका लागि महिला सांसदहरुको योजनाहरु र उहाहरुका समस्याहरु सुन्न अन्तरक्रिया कार्यक्रम राख्ने योजनामा छु । महिलाका समस्या कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा मैले गृहकार्य गरिरहेको छु ।