घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

माघ ४, काठमाडौ –कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ । ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस्, नगर माथि गाउँघरमा स्वास्थकर्मी साथी’ नाराका साथ नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो ।

नागरिकको घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवालगायत सेवा प्रदान गर्ने गरिएको छ । नगरपालिकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत पालिकाभित्रका गर्भवतीको निःशुल्क स्वाथ्य जाँच, गाउँघरमै पुगेर वृद्धाभत्ता, निःशुल्क स्वास्थ्य सेवा र ज्येष्ठ नागरिक तथा दम, मधुमेह, उच्च रक्तचापका बिरामीका लागि निःशुल्क औषधी दिँदै आएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।

“घरदैलामै पुगेर एकीकृत सेवा प्रवाह गर्दैआएका छौँ”, उनले भने, “पालिकाभित्रका सुत्केरी र गर्भवतीको मोबाइलमा एसएमएस एलर्ट सेवा प्रदान गर्ने गरिएको छ ।” ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा गरिएको छ । नगरपालिकाले सबै नागरिकको स्वास्थ्य बीमा गरेको छ । “नगरपालिकाले नै विपन्न तथा आर्थिक अवस्था कमजोर भएका र ज्येष्ठ नागरिकको बीमा गरिदिएको छ”, शाहीले भने ।

नगरपालिकाकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत हालसम्म १० हजार नागरिकले स्वास्थ्य सेवा पाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले घुम्ती सेवामार्फत एकीकृत निःशुल्क शिविर सञ्चालन गर्ने गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले जानकारी दिए । “हामीले यो कार्यक्रमअन्तर्गत स्वास्थ्य, आयुर्वेद, पञ्जीकरणलगायतका अन्य काममा नागरिकको घरमा नै सेवा दिने गरेका छौँ”, उनले भने, “यो कार्यक्रम प्रत्येक महिनाको एक दिन नगरपालिकाका नौवटै वडामा सञ्चालन हुन्छ ।”