काबुलमा आत्मघाती बम विस्फोट हुँदा २० जनाको मृत्यु, कयौँ घाइते

पुस २८, काठमाडौं  – अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।

विदेश मन्त्रालयनजिकै भएको विस्फोटमा तालिबान अधिकारीले २० जनाको मृत्यु भएको बताएका छन् । तर प्रहरीले भने पाँच जनाको मृत्यु भएको जनाएको छ । आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन् । टर्की, चीन लगायतका धेरै देशका दूतावास भएको क्षेत्रमा विस्फोट भएको हो ।

बम बोकेका व्यक्ति अफगानिस्तानको विदेश मन्त्रालयभित्रै घुस्न खोजेको तर असफल भएपछि बाहिरै बम विस्फोट गराएको तालिबान सरकारले जनाएको छ । अधिकारीहरूका अनुसार बम विस्फोट भएको समयमा तालिवान र चिनिया अधिकारीहरूबीच बैठक चलिरहेको थियो। काबुल सरकारले आक्रमणलाई कायरताको संज्ञा दिँदै त्यसको बदला लिने चेतावनी दिएको छ ।

अफगानिस्तानमा चरमपन्थी संगठन इस्लामिक स्टेटले यस्तो आक्रमण गर्दै आएको छ। इस्लामिक स्टेटले गत वर्ष अफगानिस्तानमा भएका धेरै विस्फोटको जिम्मेवारी लिएको थियो।पछिल्लो आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले नलिएको बीबीसीले जनाएको छ।