मधेस प्रदेशमा सत्ता गठबन्धनकै सरकार बन्छ – महासेठ

पुस २२, काठमाडौं – पुस २८ गते मधेस प्रदेशको मुख्यमन्त्रीको टुङ्गो लाग्ने नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले बताएका छन् ।

रातोपाटीसँग भएको संवादमा उनले केन्द्रीय सरकार गठनमा सहयोग गर्ने दलहरूसँग मिलेर मधेस प्रदेशमा पनि सरकार गठन गर्ने र सम्भवतः २८ गते मुख्यमन्त्री चयन गरिसक्ने उनले बताए । प्रदेशमा २३ सांसदसहित सबैभन्दा ठुलो दल रहेको नेकपा एमालेले मुख्यमन्त्रीको दाबी गर्ने कि नगर्ने भन्ने प्रश्नमा उनले सो सन्दर्भमा अहिले छलफल भइरहेको बताए ।

महासेठले नयाँ सरकार गठनमा सहयोग गर्ने क्रियाशील पार्टीहरू जनमत, जसपा नेपाल, राप्रपा, माओवादी केन्द्रसँग कै सहमतिमा मधेस प्रदेशमा सरकार गठन हुने बताए । उनले पुस २६ गते प्रधानमन्त्रीले लिने विश्वासको मत लिइसकेपछि मधेस प्रदेशसहित सातै प्रदेशका सरकार गठनको निर्धारण हुने बताए ।

मधेस प्रदेशमा सबैभन्दा ठुलो दल नेकपा एमालेको प्रत्यक्ष र समानुपातिक गरी कुल २३, नेपाली काँग्रेसको २२, जसपा नेपालको १६, जनमतको १३, लोसपाको ९, माओवादी केन्द्रको ८ र स्वतन्त्र तर्फ ६ सांसद रहेको छ ।

प्रदेशमा संसदीय दलको नेतामा नेकपा एमालेले दलको नेतामा सरोज यादव, नेपाली कांग्रेसले कृष्णा यादव, जनमत पार्टीले महेश प्रसाद यादवलाई चयन गरेको छ भने जसपाले आज संसदीय दलको नेता चयन गर्दैछ । जसपामा दुई मुख्य प्रतिस्पर्धी लालबाबु राउत र सरोज कुमार यादव मध्ये एकजना चयन हुनेछ ।

त्यसैगरी लोसपा नेपालले जितेन्द्र सोनललाई, नेकपा माओवादी केन्द्रले मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरतप्रसाद साहलाई चयन गर्ने सम्भावना बलियो छ ।