पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन आज गरिने

पुस १९, काठमाडौं – पोखरा अन्तराष्ट्रिय विमानस्थलको आज उद्घाटन हुने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रम उद्घाटनका लागि पोखरा महानगरले विभिन्न झाँकीसहितको प्रदर्शन गर्दैछ भने पोखरा विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई नागरिक अभिनन्दन गर्दै छ। अमरसिंह चोकदेखि विमानस्थलसम्म झाँकी र्याली आयोजना हुँदै छ।

पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ। उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा महानगरले लिएको छ। समारोहमा जनसहभागिता गराइने महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। प्रचारप्रसारका लागि सहरका विभिन्न स्थानमा स्वागत गेट राखिएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन महानगरले अपनत्व लिएकोमा पोखरा विमानस्थलले पोखराको मात्र नभई देशकै समुन्नतिको ढोको खोल्ने बताए। एयरपोर्टबाट वार्षिक ५० करोड भन्दा बढी आम्दानी हुने उनले बताए। ‘पूरानो एयरपोर्टले नेट २५ करोड वार्षिक आम्दानी गरेको छ। यो एयरपोर्टबाट ५० करोड आम्दानी हुने अनुमान छ,’ उनले भने, ‘अझै पर्यटक बढे १ अर्वसम्म हुन सक्छ।’

हालसम्म प्राधिकरणले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उद्घाटनकै दिन अन्तराष्ट्रिय उडान हुने बताउँदै आएपनि अन्ततः उडान नहुने भएको छ। बरु अन्तराष्ट्रिय उडान गर्दै आएको नेपालकै हिमालयन एयरलाइन्सले काठमाडौंबाट एयरबस ३२० पोखरामा अवतरण गर्ने कार्यक्रम छ। तर पोखराबाट अन्तराष्ट्रिय उडानको टुंगो लागेको छैन। उद्घाटनका बेला अन्तराष्ट्रिय उडान नहुने भएपछि पोखरेलीहरु निराश भएका छन्।

२०३२ सालमा तत्कालीन अन्चलाधिश शंकरराज पाठकले नै अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना गरेर जग्गा अधिग्रहण सुरु गरेका थिए। तत्कालीन समयमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। पछि ६ सय २९ रोपनी अधिग्रहण भयो। पटक पटक गरेर ४ हजार रोपनी जग्गा अधिग्रहण गरी २२ अर्व लगानीमा विमानस्थल निर्माण गरिएको हो।

विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदरमा ऋण दिएको छ। एक्जिम बैंकले दिएको रकम मध्ये २५ प्रतिशत अनुदान हो भने ७५ प्रतिशतमा २ प्रतिशत ब्याज लाग्ने छ। २ हजार ५ सय मिटर रनवे भएको पोखरा विमानस्थलमा एयरवस ३२० उडान र अवतरण हुन सक्छ। यहाँबाट नजिकका गन्तब्यहरुमा उडान भर्ने योजना प्राधिकरणको छ।