गठबन्धनकै सरकार बन्छ, नेतृत्वबारे सल्लाह हुँदैछ – अध्यक्ष प्रचण्ड

पुष ७, काठमाडौं  – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताएका छन् । उनले सरकारको नेतृत्वको बारेमा भने सल्लाह गर्ने प्रतिक्रिया दिए ।

बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथ लिएलगत्तै अध्यक्ष प्रचण्डलाई संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको नेतृत्वमा तपाई कि शेरबहादुर देउवा भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै उनले सो सम्बन्धमा सल्लाह गरेर सहमतीमा पुग्ने बताए ।

अध्यक्ष प्रचण्डले राष्ट्रपतिबारे भने अहिले नै प्रश्न नगर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । सपथग्रहण उत्साहका साथ सम्पन्न भएको र सरकार पनि उत्साहका साथ बन्ने उनको भनाई थियो ।

उनले भने, ‘सबै प्रक्रिया सहज ढंगले अगाडि बढेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो । आज सपथग्रहण पनि बडो उत्साहका साथ सम्पन्न भयो । अव सरकार पनि त्यसैगरी बन्छ । र, काम अगाडि बढछ । अव सरकार यही गठबन्धनको बन्छ । प्रधानमन्त्रीका लागि हामी सल्लाह गर्दैछौं । राष्ट्रपतिबारे अहिले नसोध्नुस् ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्ने आकांक्षासहित सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुसँगको छलफललाई पनि तीव्रता दिएका छन् भने एमालेसँग पनि आफ्ना प्रतिनिधिमार्फत् छलफललाई अगाडि बढाईरहेका छन् । यता, प्रतिनिधिसभामा तेस्रो हेसियतमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीको दावी स्वभाविक नभएको पनि राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । तर, उनले भने मुलुकको समृद्धिका लागि आफूले एक पटक सरकारको नेतृत्व लिन चाहेको जिकीर गर्दै आएका छन् ।