नाटकको लत नै बसिसक्यो - संगीता उराँव–रंगकर्मी

मंसिर २१, काठमाडौं  – सुनसरीकी संगीता उराँव १० वर्षको उमेरमा सडक नाटक गदैं रंगमञ्चमा प्रवेश गरिन् । आफ्नो कला प्रतिभा देखाउन रंगमञ्चमा प्रवेश गरेको बताउछिन् । थुप्रै नाटकमा अचिनय गरिसकेकी उनले रंगमञ्चको लत लागेको बताउछिन् । उनै संगितासंग गरिएको कुराकानी

नाटकमा कसरी प्रवेश गर्नुभयो ?

नाटकमा सानैदेखि मेरो रुचि हो । सानामा अरु दाजुदिदीहरू खेलौना बटुलेर हिँड्थे म भने नाटकमा अभिनय गर्न तम्सिन्थें । सडकनाटकले मलाई यो क्षेत्रलाई बुझ्न सहयोग गरेको हो । नाटकमा एक्टिङ गर्न पाए अरु खेल खेल्न मलाई मन लाग्दैनथ्यो । रंगमञ्चको स्वाद सानैदेखि पाएकाले अब त नाटकको लत नै बसिसक्यो ।

करिअरका रूपमा कसरी अगाडि बढ्नुभयो ?

सडक नाटक गर्दाताका विराटनगरमा मैले १० दिनको थिएटरको प्रशिक्षण लिएँ । त्यसले मलाई धेरै विषय बुझ्ने र सिक्ने थप मौका प्राप्त भयो । यो क्षेत्र मेरा लागि रहरको विषय छँदै थियो, प्रशिक्षणले मलाई थिएटरमा अगाडि बढ्न थप हौसला मिल्यो ।

यो क्षेत्रमा लाग्न घरपरिवारको सहयोग कस्तो थियो ?

मेरो घरमा नाटक भनेको के हो, थाहै थिएन । यस क्षेत्रमा लाग्नु राम्रो होइन भनेर सबैले भन्थे । घरपरिवारमा नाटक खेल्नका लागि थुप्रै चुनौती पनि थिए । हाम्रो समुदायमा छोरीलाई बाहिर निस्केर काम गर्न त्यति सहज थिएन । मैले नाटक खेल्न जिद्दी गरें । बरु खाना नदिनू तर, नाटक खेल्न दिनू भन्थें । बिस्तारै बुझाउँदै गएँ, हाल धेरै सहज भइसकेको छ ।

नाट्यक्षेत्रमा आर्थिक रूपले सबल बन्न सकिन्छ ?

म आफ्नो कला प्रतिभा देखाउन यस क्षेत्रमा आएकी हुँ । मेरो अभिनयलाई धेरैले मन पराइदिनु भएको छ । यसले गर्दा यो क्षेत्रमा अगाडि बढ्न हौसला मिलेको छ । यसले मलाई औधी खुसी मिल्छ । आर्थिक रूपमा यो पेसालाई कमजोर मानिए पनि त्यस्तो छैन । कला प्रतिभालाई पैसासँग तुलना गर्न मलाई मन पर्दैन ।

चलचित्रमा खेल्ने योजना छ कि ?

मलाई सुहाउँदो भूमिका प्राप्त भए आगामी दिनमा चलचित्रमा पनि देखिन सक्छु ।