काठमाडौँमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी

मंसिर १४,काठमाडौँ –मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन् रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने ।नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले गाई र भैँसीपालन गरेर मासिक १० लाख आम्दानी गर्दै आएका हुन् ।

पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैँसीपालन गर्दै आएक छन् । लामिछानेले १५ करोड लगानीमा सुरुको समयमा ३० भैँसीबाट आफ्नो व्यवसाय सुरुआत गरेका हुन् । अहिले उनको गोठमा एक सय ५० भैँसी र ७० गाई छन् । बीचको समयमा उनले तीन सयसम्म भैँसीपालन गरे पनि अहिले धेरै भैँसी बिक्रीवितरण गरेर गाईसमेत पालन सुरु गरेका छन् ।

विसं २०७२ देखि सिभिल इन्जिनियर पेसा अँगाल्नुभएका लामिछानेकी श्रीमती सङ्गीता पनि इन्जिनियर नै छन् । “सुरुमा म इन्जिनियर भएका कारण कन्स्ट्रक्सनको काम मात्र गर्थें, विगत तीन वर्षदेखि इन्जिनियर पेसासँगै भैँसी र गाईपालन व्यवसाय सुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ”, लामिछाने भन्छन् ।

उनको गोठबाट हाल दैनिक एक हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमध्ये पाँच सय लिटर काठमाडौँका विभिन्न दूध डेरीमा पठाउने र बाँकी पाँच सय लिटर दूध व्यक्तिको घर–घरमा पु¥याउने गरेको उनले सुनाए ।

लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर एक सय ५० र गाईको दूधको मूल्य प्रतिलिटर एक सय १० रहेको छ । उनको फार्ममा हाल २० कर्मचारी कार्यरत छन् । दूध बिक्रीबाट मासिक ३० देखि ३५ लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर १० लाख बचत हुने गरेको उनले बताए। गाई र भैँसीलाई उनिहरुले पराल र दाना खुवाउँदै आएका छन् । गाई र भैँसीको मलसमेत उनले बिक्री गरे ।

लामिछानेले काठमाडौँमा गाईपालन र भैँसीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि गृहजिल्ला गोरखामा समेत उक्त फार्मको शाखा विस्तार गरेका छन् । उनले गोरखाको सिरानचोक–७ खहरेमा ५० भैँसी र ५० बाख्रापालन गरेका छन् । यस्तै सोही ठाउँमा दुई सय रोपनी क्षेत्रफलमा तरकारी खेतीसमेत गरिएको छ । गोरखामा भने चारजनालाई रोजगारी दिएको उनले बताए ।