उदयपुर–१ मा कांग्रेसका खड्का निर्वाचित

मंसिर १४, उदयपुर  – उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी हुनुभएको छ । खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत प्राप्त गरे।

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझी तेस्रो स्थानमा रहनुभयो । यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका थिए ।

पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी छन् । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाएकी चौधरीलाई पराजित भएका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।