रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्दै किसान

मंसिर १४,भरतपुर  -चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत घोषणा गरेर केही वर्ष कृषि कार्यालयका कार्यक्रमसमेत यहाँ सञ्चालन भए । तर अहिले रोगका कारण यहाँ सुन्तलाका बोट मरेर सखाप भएका छन् । बर्सेनि उत्पादनमा ह्रास आएको छ ।

तामिन क्षेत्रभित्र ८० बिघा क्षेत्रफलमा लगाइएको सुन्तलाका बोट मर्दै गएर १० बिघामा मात्रै बाँकी छ । तामिन कृषि सहकारीका अध्यक्ष हरिबहादुर नेपालका अनुसार यहाँ ७० प्रतिशत सुन्तलाका बोट मरेर सखाप भएका छन् । उहाँले २०७५ सालदेखि सुन्तलाको बोटमा रोग देखा पर्न थालेको बताउनुभयो । विसं २०५० देखि यहाँका किसानले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका हुन् ।

“विसं २०५७ देखि व्यावसायिकरूपमा सुन्तला बिक्री गर्न थालेका हौँ”, उनले भने , २०७५ सालसम्म उत्पादन र आम्दानी बढेको थियो, त्यसपछि क्रमशः बोट मर्न थाले ।” एउटा याममै रु १२ लाखको सुन्तला बेचेका नेपाल आफ्नो बारीमा अहिले एउटा पनि बोट नरहेको बताउनुहुन्छ । तामिनमा अब दुई सुन्तलाका बगैँचा मात्रै बाँकी छन् । अन्य सबै सखाप भएका छन् ।

बोटमा टुप्पा सुक्ने र फेद कुहिने समस्या छ । एक हजार मिटरभन्दा तलको जमिनमा रहेका सुन्तलाको बोटमा यस्तो समस्या छ । तामिन सहकारीमा आवद्ध तामिन, ठङराङ, साठीमुरे, नेपेडाँडा, न्याङ्दीखोला, कमेरघाट, निबुवाडाँडाका कृषकले व्यावसायिकरूपमा सुन्तला खेती गर्दैआएका थिए । अहिले नेपेडाँडा र ठङराङका बगँचामा मात्रै सुन्तलाका बोट बाँकी रहेको नेपालले बताए ।

कृषि ज्ञान केन्द्रले अनुदानमा दिएको सुन्तलाको बेर्नामा पनि ठूलो बोटमा जस्तै रोग देखापरेपछि यहाँका किसानले नयाँ बोट लगाउन छाडेका छन् । तामिनका कृषक रामप्रसाद बोहोराले सुन्तलाको बोटमा लागेको रोगका कारण किसान चिन्तित बनेको बताए। “रोगले तामिनमा विगतका वर्षमा जस्तो सुन्तला नै छैन”, उनले भने । सुन्तलामा रोगले पात झर्दै गएका छन् । बोट सुक्दै गएका छन् ।