प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी

मंसिर ७, डडेलधुरा –  डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गरे । यो सँगै उनी यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी भएका छन् ।

कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति देउवाले २५ हजार पाँच सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गरेका मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिएका हुन् । विसं २०१७ देखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत छन् ।

विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट विजयी भए । देउवा २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट विजयी भएका हुन् । यसपटक सातौँपटक पनि डडेल्धुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जित हासिल भएको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिए ।