कतार विश्वकप आजबाट, उद्घाटन खेल आयोजक कतार र इक्वेडरबीच

कात्तिक ४, एजेन्सी  – पछिल्लो १२ वर्ष विभिन्न प्रश्न, आलोचना र अनुमानका बीच फिफा विश्वकप २०२२ कतारमा आज (आइतबार) बाट सुरु हुँदैछ ।

पहिलो पटक मुस्लिम मुलुकमा आयोजना हुन लागेको विश्वकपमा आयोजक कतार र इक्वेडरबीच उद्घाटन खेल हुनेछ । समूह ‘ए’ को खेल नेपाली समय अनुसार दोहास्थित अल वेत मैदानमा राति पौने ९ बजे सुरु हुने तालिका छ । विश्वकपका सबै खेलको प्रत्यक्ष प्रशारण नेपालमा समेत हुनेछ । पहिलो दिन एकमात्रै खेल हुनेछ । दुबै टोली पहिलो खेल जित्दै विजयी सुरुआत गर्न चाहन्छन् । यस समूहमा नेदरल्यान्डस् र सेनेगल समेत छन् । कतार आयोजकको नाताले पहिलो पटक विश्वकपमा सहभागी भएको हो ।

मध्यपूर्वी एसियाको सानो देशमा हुने विश्वकपले सन् २०१० बाट नै निकै विवादको सामना गर्नुपरेको थियो । युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका, एसिया, अफ्रिका र आसियान क्षेत्रबाट उत्कृष्ट २३ टोलीले विश्वकपमा सहभागी जनाउनेछन् । जहाँ, इरान बाहेक सम्पूर्ण टोलीले २६ खेलाडी दर्ता गराएका छन् ।

कतारको प्रशिक्षकमा फेलिक्स सान्चेज छन् । ४६ वर्षीय स्पेनिस प्रशिक्षकले कतारलाई ५–४–१ को रणनीतिमा मैदान उतार्नेछन् । इक्वेटरविरुद्ध खेल्नुअघि कतारले पाँच देशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ कतारले सबै खेल जितेको छ । इक्वेडरविरुद्ध कतारको हसन अल हैदुस मुख्य खेलाडी हुनेछन् । दक्षिण अमेरिकी टोली इक्वेडरलाई अर्जेन्टिनी प्रशिक्षक गुस्ताफो अल्फारोले ४–३–३ को रणनीतिमा मैदान उतार्नेछन् । उनको प्रशिक्षणमा इक्वेडरले पछिल्लो ६ खेलमा दुईमा जित र चारमा बराबर खेलेको छ । हालसम्म इक्वेडरले विश्वकपमा १० खेल खेलेको छ ।

 

Leave a Reply

Your email address will not be published.