म्याग्दीमा मतगणनास्थल तयार

मंसिर ४, काठमाडौ –प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा मतगणनास्थल तयार पारिएको छ ।जिल्ला समन्वय समितिको सभाहलमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिसीटिभी क्यामेरा र तारजालीसहितको मतगणनास्थल बनाइएको हो । मतगणनास्थलको सबै दृष्य क्यामराले कैद गर्ने र गणकबाहेक अन्यको पहुँच नहुने गरी तारजाली लगाइएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताए ।

मतगणनास्थलमा सुरक्षा पोष्ट, उम्मेद्वार र दलका प्रतिनिधि तथा मिडिया कक्षका लागि छुट्टै कक्ष स्थापना गरिएको उनले बताए । गणनास्थलमा सिसीटिभी क्यामरासहित भरपर्दो सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

मतगणना हुने ठाउँमा बाहिरबाट कोही पनि भित्र पस्न नसकुन् भनेर तारजाली लगाइएको हो । मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिले बाहिरबाट भित्र मतगणना हेर्न मिल्ने गरी तारजाली लगाइएको छ । कोही फड्किएर मतपत्र भेट्न सक्दैनन् ।

मतदानस्थलबाट मतपेटिका सङ्कलन पनि जिल्ला समन्वय समितिकै सभाहलमा गरिने भएको छ । बयासी मतदानस्थलमा एक सय १९ मतदान केन्द्र रहेको जिल्लामा ८६ हजार मतदाता छन् । सबै मतदान केन्द्रमा बुथ निर्माणलगायत सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए ।

आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । छ स्थानीय तह र ४५ वडा रहेको जिल्लामा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र छन् ।