नेपाल र पाकिस्तानबीको मैत्रीपूर्ण फुटबल आज

कात्तिक २९, काठमाडौं  – नेपाली राष्ट्रिय फुटबल टिमले आज पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । पाकिस्तान, फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो । नेपालले जितको लक्ष्यका साथ खेलमा सहभागी हुने दाबी गरेको छ ।

खेलअघि मंगलबार आयोजित प्रि म्याचकन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमा खेलाडीले राम्रो तयारी गरेकोले जितका लागि खेल्ने दाबी गरेका हुन् ।

नेपाली टोलीका कप्तान रोहित चन्दले टोलीमा लामो समय खेले पनि कप्तानको रूपमा खेल्न पाउनु खुसीको क्षण भएको बताएका छन् । उनले पाकिस्तान नेपालका लागि सँधै कठिन प्रतिस्पर्धी रहेको बताए ।