किसानले गोरु पाल्न छाडे

कात्तिक १५ ,काठमाडौँ – मुसीकोट–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसके । केही वर्षअघि उनको गोठमा एक हल गोरु बाँधिएको हुन्थ्यो । उनको बाउबाजेले गोरुबाट नै खेतीपाती गर्दै आएका थिए । तर उनका गाईवस्तु बाँध्ने भकारोमा अहिले गोरु देखिँदैनन् । उनले आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि गोरु पाल्न छाडेका हुन् । उनिसँग जोत्नका लागि मिनीटिलर (हाते ट्र्याक्टर)छ । त्यस्तै गहुँ, धान केलाउन थ्रेसरको प्रयोग गरिरहेका छन् ।

पाण्डे मात्र होइन, रुकुमपश्चिमका किसान आधुनिक औजारको प्रयोगमा लागेका छन् । गोरुले एक दिनमा हुने काम आधुनिक कृषि औजारले दुई घण्टामै हुने भएपछि जिल्लाका किसानको आकर्षण ती औजारमा देखिएको हो । पछिल्लो समय आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएको छ । कृषिको काम गर्दा सहज, छरितो हुने भएपछि जिल्लाका किसान आधुनिक कृषि औजार आकर्षित भएका हुन् । जिल्लामा परम्परागत कृषिबाट कृषक आधुनिक कृषि प्रणालीमा लागेसँगै आधुनिक कृषियन्त्रको प्रयोग बढेको हो ।

जिल्ला कृषि विकास कार्यालयले कृषि औजार किन्न किसानलाई अनुदान दिने गरेको छ । कार्यालयका अनुसार जिल्लामा ३० प्रतिशत किसानले आधुनिक कृषि औजार प्रयोग गर्ने गरेका छन् । मिनीटिलर, थ्रेसर, च्यापकटर, सोलारड्रायर, हातेपङ्खाजस्ता औजार प्रयोग हुने गरेको छ ।

जिल्लाको सबै क्षेत्रमा आधुनिक कृषि औजारको प्रयोग हुने गरेको कार्यालय प्रमुख मीनबहादुर केसीले जानकारी दिए । सङ्घीय , प्रदेश , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एक पालिका एक उत्पादनलगायत कार्यक्रमले कृषकलाई ती सामग्री वितरण गर्ने गरेको उनले बताए । कृषकलाई ५० प्रतिशत अनुदानमा औजार वितरण भइरहेको उनको भनाइ छ ।

कृषकले आफैँले पनि ती औजार खरिद गरी प्रयोग गरिरहेका छन् । आधुनिक कृषि औजारमार्फत काम गर्दा सहज हुने भएपछि किसानको आकर्षण बढेको किसानको भनाइ छ । एक हल गोरुले एक दिनमा जोत्ने बारी हाते टेलरले दुई घण्टामा सकाउने किसान बलबहादुर केसीले सुनाए