दमौलीका वडा तहसम्म मतदाता शिक्षा

कात्तिक १५, दमौली – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँ मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारीमा जुटेको छ । कार्यालयले मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउन जिल्लाका सबै वडातहसम्म मतदाता शिक्षा सञ्चालन गर्न लागेको हो ।

निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तरिकाबारे जानकारी गराउन जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिने निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । “यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्दैछन्, उनीहरुलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ, मतपत्र कसरी पट्याउने लगायतका बारेमा मतदातालाई सिकाइनेछ,” उहाँले भन्नुभयो । मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी छ । कात्तिक १८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा सञ्चालन हुनेछ ।

मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा एक जना महिला स्वास्थ्य स्वयंसेविका खटाइनेछ । “उनीहरुले वडाका टोल टोलमा पुगेर मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउनेछन्, यसले गर्दा मतदाता मतदान गर्ने तरिकाबारे जानकार हुन्छन्,” उनले भने ।

स्थानीय तह निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन् । उनीहरुले मङ्सिर ४ गते पहिलो पटक मतदान गर्दैछन् । “स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेन, त्यसले गर्दा मत बदर भयो,” उनले भने , “मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए बदर मत न्यूनीकरण गर्न सकिन्छ ।” निर्वाचनका लागि तयार गरिएको पम्प्लेट र पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पु¥याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरिएको छ । निर्वाचनका लागि तयार गरिएका त्यस्ता पम्प्लेट र पोष्टर जिल्लामा आइसकेको छ ।

मतदातालाई मतदानका लागि तयारी अवस्थामा राख्न निर्वाचन व्यवस्थापन गर्ने निकायद्वारा सञ्चालन गरिने शिक्षालाई मतदाता शिक्षा भनिन्छ । मतदातालाई लक्ष्य गरी मतदानमा तिनको अधिक सहभागिताका लागि शिक्षा प्रदान गरिने उद्देश्य रहेको यस कार्यक्रमले मतदान गर्ने सही तरिका र मतदानको महत्वबारे बोध गराउँछ ।

निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र बाहेकका सबै आवश्यक सामग्री जिल्ला आइपुगेको छ । समानुपातिक मतपत्र भने जिल्ला आइसकेको छ । समानुपातिकका लागि प्रतिनिधिसभा र प्रदेशसभा गरी पाँच लाख ५० हजार मतपत्र आइपुगेको छ । “निर्वाचनका लागि आवश्यक सबै सामग्री आइतबार जिल्ला आइपुगेको छ, सामग्रीको रुजु गदैर्छौ,” उनले भने ।

जिल्लामा दुई लाख ४८ हजार चार सय ९५ मतदाता छन् । स्थानीय तह निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाता रहेका थिए ।

तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २३ हजार चार सय ९० र क्षेत्र नम्बर २ तर्फ एक लाख २५ हजार पाँच मतदाता छन् । तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा ९क० मा ६७ हजार एक सय ४४ र प्रदेश सभा ९ख० मा ५६ हजार तीन सय ४६ मतदाता छन् । तनहुँ क्षेत्र नम्बर २ प्रदेश ९क० मा ६७ हजार ३२ र प्रदेश ९ख० मा ५७ हजार नौ सय ७३ मतदाता छन् ।

जिल्लामा एक सय ४२ मतदानस्थल र तीन सय पाँच मतदान केन्द्र छन् । तनहुँ क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्र छन् । क्षेत्र नम्बर २ तर्फ ७३ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र छन् । क्षेत्र नम्बर १ प्रदेश ९क० तर्फ ३६ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेश ९ख० तर्फ ३३ मतदानस्थल र ७० मतदान केन्द्र कायम छन् । क्षेत्र नम्बर २ प्रदेश ९क० तर्फ ३७ मतदानस्थल र ८० मतदान केन्द्र तथा प्रदेश (ख) तर्फ ३६ मतदानस्थल र ७३ मतदान केन्द्र छन् ।