आजदेखि समानुपातिकतर्फ दोस्रो चरणको मतपत्र ढुवानी

कात्तिक ३, काठमाडौं – निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ दोस्रो चरणको मतपत्र ढुवानी शुरु गर्ने भएको छ ।

पहिलो चरणमा प्रदेश १, मधेश र बागमती प्रदेशमा मतपत्र ढुवानी गरेको आयोगले आज कर्णालीलगायत प्रदेशका विभिन्न जिल्लामा मत पत्र पठाउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ ।

यसबाहेक आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका लागि पनि हिजोसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न गरिएको जनाएको छ । छापिएका मध्ये प्रतिनिधिसभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेश सभातर्फको मतपत्र ५० लाख २४ हजार रहेका छन् ।