आफूलाई रुपान्तरण गरी नागरिकका पक्षमा काम गर्नुपर्छ – मुख्यमन्त्री भट्ट

असोज ३१, सुदुरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित ६७औँ प्रहरी दिवस कार्यक्रमा मुख्यमन्त्री भट्टले सङ्घीय व्यवस्थाको प्राप्तिपछि बनेका नजिकका सरकारबाट जनताले छिटो र सर्वसुलभ सेवा प्रवाहको अपेक्षा राखेकाले जनइच्छा पूरा गर्नमा कमीकमजोरी हुन दिन नहुने बताए।

उनले भने, “प्राप्त सङ्घीय व्यवस्था संस्थागत भइरहँदा सबैले आफूलाई रुपान्तरण गरी आम नागरिकका पक्षमा काम गर्न जरुरी छ ।” आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले समाजमा अपराध रोकथाम गरी जनतालाई शान्तिसुरक्षा प्रदान गर्नमा नेपाल प्रहरीले गरिरहेको कामको प्रशंसा गरे .

उहाँले प्रदेशसभाले बनाएको प्रदेश प्रहरी ऐनबमोजिम आगामी दिनमा गठन हुने नयाँ सरकारले प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक रणबहादुर चन्द, वकिल सिंह, नरपति भट्ट, प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर चन्द, प्रहरी वरिष्ठ हवल्दार दिनेश नाथ, प्रहरी सहायक हवल्दार मीना रोकाया र प्रहरी जवान गीताकुमारी विष्टलाई उत्कृष्ट काम गरेबापत पुरस्कृत गरिएको थियो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले समाजमा शान्ति सुव्यवस्था र अमनचयन गर्नमा प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताए । कार्यक्रममा सहभागीले अमर प्रहरी स्मारकमा पुष्पार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।