ठेला व्यवसाय हटाइदै

असोज ११, काठमाडौँ – बागलुङ बजारमा सञ्चालनमा ल्याइएका ठेलालगयातका व्यवसाय गर्नेलाई नगर पालिकाले हटाउने भएको छ । अनुमति बिना बागलुङ बजारको चोक चोकमा राखिएका ठेला तथा पोके व्यवसायका कारण नगरको ट्राफिक व्यवस्थापनमा समस्या भएकाले हटाउन थालिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

घरभाडा तिरेर व्यवसाय गर्ने व्यवसायीलाई समस्या भएको भन्दै हटाउने निर्णयमा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाले एक महिनाभित्र बागलुङ बजार क्षेत्रमा तरकारी फलफूल र चनाचटपटलगायतका ठेलामा व्यवसाय गर्ने र झोलामा कपडालगायतका सामग्री बोकेर घरघरमा डुल्ने पोके व्यापारीलाई हटाउने निर्णय गरेको हो ।

“एउटाले रु ५० हजार भाडा तिरेर सटरमा फलफूल व्यवसाय गर्छ, नगरपालिकालाई करसमेत तिर्छ तर उसैको अगाडि सडकमा ठेला व्यवसायले धमाधम फलफूल बिक्री गर्दछ, उस्को व्यवसाय न दर्ता हुन्छ न कर नै तिर्दछ”, नगर प्रमुख श्रेष्ठले भने । “ एक महिनाभित्रै आफैँ हट्न भनेका छौँ, नहटे नगरले हटाउँछ”, उनले भने ।

बजारभन्दा बाहिरबाट खरिद गरेर गाउँगाउँमा बिक्री वितरण गरेका पोके व्यवसायीलाई पनि कुनै उचित स्थान खोजेर भाडामा व्यवसाय सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ । बागलुङ बजारमा एक सयभन्दा बढी बिना दर्ताका ठेला व्यापारी रहेको नगरपालिकाको भनाइ छ ।