ज्येष्ठ नागरिकलाई घरमै परिचयपत्र

असोज ४, तनहँ –  तनहुँको म्याग्दे गाउँपालिका–१ मान्हौका ६५ वर्षीया मधुमाया कामीले घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाउनुभयो । गाउँपालिकाको कार्यालयसम्म पुगेर परिचयपत्र बनाउन नभ्याउनुभएका उहाँले घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा खुसी लागेको बताए ।

“गाउँपालिका जान भ्याएको थिइनँ, घरमै ल्याएर गाउँपालिकाले दियो”, उनले भने , “स्थानीय सरकार घरमै आएजस्तो अनुभूति भयो ।” स्थानीय तह निर्वाचनका बेला उम्मेदवार घरघरमा आएर भोट मागेको सम्झिँदै उहाँले सेवा पनि घरदैलोमा नै आउँदा खुसी लागेको प्रतिक्रिया दिए।

सोही ठाउँकी बुद्धिमाया कामीले पनि घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाए । “सिंहदरबारको अधिकार गाउँमा भन्ने त सुनेका थियाँै, आज त आफैँले घरदैलोमा सेवा पाउँदा साँच्चै हो रहेछ भन्ने अनुभूति भयो”, उनले भने । सोही ठाउँका ओमबहादुर आलेले घरको डिजिटल नम्बर शिविरकै अवसरमा प्राप्त गर्नुभयो । उनले घरदैलोमा नै सेवा पाउँदा समयको बचतसँगै गाउँपालिकासम्म पुग्दा लाग्ने खर्चको पनि बचत भएको उल्लेख गरे ।

जनतालाई घरदैलोमै सेवा दिने उद्देश्यसहित गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर सुरु गरेको छ । उक्त ठाउँका एक सयभन्दा बढीलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । “जनतालाई गाउँघरमै सेवा दिने उद्देश्यसहित गाउँपालिकाका सम्पूर्ण सेवा घरदैलोमै पु¥याउने प्रयास गरेका छौँ”, उनले भने, “गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा घरदैलोमा नै प्रदान गर्छौँ ।”

म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनता सधैँ वडा र पालिकामा आउने नभई पालिका पनि जनताको घरमा जानुपर्छ भन्ने उद्देश्यसहित एकीकृत शिविर आयोजना गरिएको बताए । “स्थानीय सरकार जनताको घरमा पुग्नुपर्छ भन्ने मान्यतासहित यो शिविर सुरु गरिएको हो, घरदैलोमा जाँदा आम जनतासँग साक्षात्कार पनि हुन्छ, समस्या पनि सुन्न पाइन्छ”, उनले भने ।

घरदैलोमै गएर सेवा प्रदान गर्दा जनतामा खुसी छाएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए। “हामी सधैँ जनताप्रति उत्तरदायी हुनुपर्छ”, उनले भने । घुम्ती शिविरमार्फत कृषि, पशु, स्वास्थ्य, घरनक्सा, पञ्जीकरणलगायतका सेवा प्रदान गरिएको छ । विषयगत शाखाअन्तर्गतका योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, स्वास्थ्य–आर्युर्वेद शाखाअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्क्रिनिङ, मधुमेह, पोषण सेवा, भिआइए स्क्रिनिङ, कोभिडविरुद्धको खोप प्रदान गरिएको छ ।

कृषि शाखाअन्तर्गत हिउँदे बालीको बीउ वितरण, विषादी वितरण, फार्म दर्तासम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदानसम्बन्धी जानकारी तथा माग सङ्कलन, पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण एवं औषधि वितरण, प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी प्रदान गरिएको छ ।

पञ्जीकरण शाखाअन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, घरनक्सा शाखाअन्तर्गत निःशुल्क घर नम्बर प्लेट वितरण गरिएको छ । एकीकृत घुम्ती शिविर असोज २ देखि ४ सम्म वडा नं १ मा, असोज ५ र ६ गते वडा नं २ मा, असोज ७ देखि ९ सम्म वडा नं ३ मा, असोज ११ र १२ गते वडा नं ४ मा, असोज २७ र २८ गते वडा नं ६ मा र असोज ३० र ३१ गते वडा नं ७ मा सञ्चालन हुनेछ ।