जङ्कफुडको सट्टा लिटो र जाउलो

भदौं २८, काठमाडौं –पाँचपोखरी थाङ्गपाल गाउँपालिका–४ रैथानेको लुत्ती तामाङले अचेल आफ्नो बच्चालाई लिटो र जाउलो खुवाउन थालेका छन् । दोस्रो सन्तानलाई लिटो र जाउलो खुवाएकि तामाङले यसअघि चाउचाउ र विस्कुटलाई पोसिलो खानाका रुपमा लिँदै आएकि थिइन् ।

बजारका जङ्कफुडको तुलनामा आफ्नै घरमा बन्ने खाना बच्चाको लागि बढी पोसिलो हुने जानकारी पाएपछि उनले आफ्नो दोस्रो सन्तानलाई लिटो, जाउलो जस्ता खाना खुवाउन थालेकि हुन् ।

सुआहारा कार्यक्रममार्फत बालबालिकालाई आवश्यक पोषणको विषयमा जानकारी पाएपछि उनि बच्चालाई खुवाउने खानामा चार प्रकारका तत्व मिसिएको छ कि छैन भन्नेमा पनि सचेत छिन् । उनले आफ्नो बच्चाको खानामा ‘हरेक बार खाना चार’ भन्ने सिद्धान्तलाई अङ्गिकार गर्दै अन्न, गेडागुडी, हरियो सागपात र पहेँलो फलफूल तथा पशुजन्य उत्पादन मिलाउने गरेकि छन् ।

युएसएआइडीको सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमले बालबालिकाको पोषणको विषयमा जानकारी गराएपछि उनि आफ्नो सन्तानको खानामा ध्यान दिन थालेको बताइन् । टुकी सँघ सुनकोशी र सुआहारा कार्यक्रमका सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयं सेविकाले दुई वर्षसम्म ८० प्रतिशत मस्तिष्कको विकास हुने भएकाले यो अवधिमा उनीहरुको खानामा ध्यान पु¥याउनुपर्ने जानकारी दिएपछि उनले सबै खानेकुरा खुवाउन थालेकि हुन् ।

तामाङ मात्र हैन जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका महिलाले आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिन थालेका छन् । हतारमा जुन अवस्थामा भेटिन्छ त्यही अवस्थामा खाना बनाउने र खुवाउने गर्दै आएकि ईन्द्रावती गाउँपालिका–१२ भिमटारकी माया दनुवार अचेल साबुन पानीले हात नधोइ खानेकुरा छुन्छिन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–७ इर्खकी सम्झना तामाङ छ महिना नपुगेको बच्चालाई दूध मात्रै खुवाउने गर्छिन् । मेलम्ची नगरपालिका–९ की गमला गिरी सुआहाराको पहलमा नियमित बैठक बस्न थालेपछि पारिवारिक स्वास्थ्य र सरसफाइमा सचेत भएकि छिन् । जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा सुआहाराले पोषण, सरसफाइ, पारिवारिक स्वास्थ्यलगायत क्षेत्रमा काम गरिरहेको सुआहाराका जिल्ला संयोजक मनोज मिश्रले जानकारी दिए ।