सांस्कृतिक पर्व अनन्ते मेला सुरु

भदौँ २६,काठमाडौँ -जिल्लाका विभिन्न ठाउँमा शनिबारदेखि स्थानीय सांस्कृतिक पर्व अनन्ते मेला सुरु भएको छ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मानिने यो मेलामा तीन दिनसम्म स्थानीयवासीले रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गर्छन् ।

नेपालमा नेपाली र अंग्रेजबीच युद्ध चलेकोे बेलादेखि नै योे मेला सुरु भएको मानिन्छ । अंग्रेजले नेपालीलाई अन्याय गरेकाले त्यसको विरुद्ध अनन्ते मेला मनाउने चलन रहेको बुढीगङ्गा नगरपालिका–३ का नरबहादुर रौलेले बताए ।

यो पर्व मनाएमा आफूले सोचेअनुसारको मनोकांक्षा पूरा हुने स्थानीयवासीमा विश्वास रहेको छ । यस पर्वलाई महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजयोत्सवको रुपमा हरेक वर्ष मनाउने गरिन्छ ।

अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनास्वरुप पनि मनाउने गरिन्छ । मेला अवधिभर लाखे नाच, माँगल, पाण्डवहरुको युद्ध कौशल र लडाईको युद्ध नीतिका बारेमा पनि चर्चा गरिन्छ ।

स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचानका स्वरुपमा मनाइने अनन्ते मेला जिल्लाका साविकको ब्रह्मतोला, कैलाशमाण्डँैं, तोली, मार्तडी, जुगाडा, आटीचौर, बुढीगङ्गा, बाह्विसलगायत एक दर्जन बढी क्षेत्र धुमधामका साथ मनाइने गरिन्छ ।

देउडा साँस्कृतिको जगेर्ना, आफन्तसँगको भेटघाट र मित्रताको सुरुवातको सङ्केतका रुपमा पनि यस पर्वलाई मनाउने गरिएको स्थानीयबासीले बताउने गरेका छन् । मेलाको अवसर पारेर यतिखेर माईत गएकी चेली, लेकखर्क र बेसीमा रहेका आफन्त, गोठाला, विद्यार्थी र कर्मचारी एकै ठाँउमा जम्मा हुने गर्दछन् ।
मेला हेर्न आउनेहरुका लागि होटल, पसलहरुसमेत राख्ने गरिन्छ । मेलाअवधिभर कौरव र पाण्डवको युद्ध कलाबाहेक, दिनरात देउडा, दोहोरी लगाउने चलन छ । केटा र केटी एक आसपमा माया प्रेमसँगै महाभारतको कथाबस्तुलाई कलात्मकपारामा व्यक्त गर्ने गरिन्छ ।

पुरुषको पर्वका रुपमा चिनिने यो मेलामा पुरुषहरु गोल घेरामा लाम लागेर उभिन्छन् र हातमा काँसबाट निर्मित मीजुरा बजाएर दुबै पट्टिकाले पालै पालो गीत, गाथा गाएर रमाइलो गर्दछन् ।
मेला अवधिभर स्थानीयवासीले कुल देवता, कैलाश र मष्टाको पूजाआजा गर्नाका साथै पारिवारिक खुशी, दिर्घायु र सुखः शान्तिका लागि कामना गर्ने गर्दछन् । यो अवधिमा ग्रहदशाका लागि भन्दै दर्जनौ बोकाको बलिदिने प्रचलन पनि कायमै छ ।