नवौै राष्ट्रिय खेल स् सुदूरपश्चिम विजयी

भदौैँ २६ ,काठमाडौँ-  राजधानीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रदेश नं १ लाई १३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । सुदूरपश्चिमले प्रदेश १ लाई जीतका लागि एक सय ४५ रनको लक्ष्य दिएको थियो । जवाफमा प्रदेश १ निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३१ रनमा समेटियो ।

प्रदेश १ का लागि दिपेश कँडेलले अविजित ३४ रन बनाए भने कप्तान फिर्दोस अन्सारीले ३३ रनको योगदान दिए । सोनु मण्डलले अविजित २६ रन बनाउदा सन्दीप ढुङ्गानाले १३ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका मिलन बोहोराले दुई तथा हेमन्त धामी, नारायण जोशी, नरेन साउद, शेर मल्ल र लोकेन्द्र चन्दले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि वसन्त खत्रीले ५३ रनको योगदान दिए भने मिलन बोहोराले ४४ तथा लोकेन्द्र चन्दले २४ रन बनाए ।

प्रदेश १ का कप्तान फिर्दोस अन्सारीले तीन विकेट लिँदा दिपेश कँडेलले दुई विकेट लिए । यस जीतसँगै सुदूरपश्चिमले तीन खेलमा चार अङ्क जोडेको छ । पराजित प्रदेश १ को भने तीन खेलबाट दुई अङ्क रहेको छ । प्रतियोगितामा तीन विभागीय टोली, सात प्रदेश र एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ ।