सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभको निधन

भदौं १५, एजेन्सी – पूर्व सोभियत संघका नेता मिखाइल गोर्बाचोभको निधन भएको छ। शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत संघका नेता गोर्बाचोभको ९१ वर्षको उमेरमा मंगलबार राति रूसको सेन्ट्रल क्लिनिकल हस्पिटलमा निधन भएको हो।

पछिल्ला वर्षमा उनको स्वास्थ्यस्थिति बिग्रँदै गएको थियो। जसका कारण धेरै पटक अस्पताल भर्नासमेत हुनुपरेको थियो।

यसै वर्षको जुनमा केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गोर्बाचोभलाई मिर्गौला रोगका कारण अस्पताल भर्ना गरिएको दाबी गरेका थिए। तर, गोर्बाचोभको मृत्युको कारण भने खुल्न सकेको छैन।

गोर्बाचोभको अन्त्येष्टि मस्कोमा हुनेछ। रूसी समाचार एजेन्सी टासका अनुसार उनलाई सन् १९९९ मा मृत्यु भएकी उनकी श्रीमती राइसाको चिहान नजिकै नोवोडेभिची कब्रिस्तान नजिकै गाडिनेछ।