समानुपातिकतर्फको उम्मेदवारी दर्ता आजदेखि

भदौं १०, काठमाडौं  – प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आज र भोली दल दर्ता गराउन पाउने भएका छन् ।

निर्वाचन आयोगले दुवै सभाका लागि शुक्रवारदेखि निवेदन दर्ता गराउन लागेको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले शुक्रबारदेखि आइतबारसम्म तीन दिन राजनीतिक दलको निवेदन दर्ता गर्ने व्यवस्था गरेको बताए ।

आयोगले गत साउन २२ देखि ३१ गते सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ वटा दल दर्ता भएका थिए । दर्ता भएका दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै स्थापना भएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ भाग लिन मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ।