नेदरल्यान्डविरुद्ध पाकिस्तानको जित

भदौं १, एजेन्सी – नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाहुना टोली पाकिस्तान १६ रनले विजयी भएको छ।

योसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ। मंगलबार राति पाहुना टोली पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो।

नेदरल्यान्डका स्कट एडवार्डले सर्वाधिक ७१ रन बनाए। यस्तै, बिक्रमजित सिंह र टम कपुरले समान ६५ रनको योगदान गरे। पाकिस्तानका हरिस राउफ तथा नसिम शाहले समान तीन विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३१४ रन बनायो।

यसका फकर जमानले सर्वाधिक १०९ रन बनाए। यस्तै, कप्तान बाबर अजामले ७४ रन र सादाव खानले अविजित ४८ को योगदान गरे। नेदरल्यान्डका लोगान भान विक तथा बास डि लिडीले समान दुई विकेट लिए।