नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर

साउन २९, काठमाडौं  – नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आइपुगेका छन् ।

शनिबार साँझ नेपाल आइपुगेका मुख्य प्रशिक्षक प्रभाकरलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साताअघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको जनाएको छ ।

प्रभाकरले नेपाललाई प्रतियोगितात्मक रूपमा केन्याविरुद्धको खेलबाट औपचारिक रूपमा सम्हाल्नेछन् । नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणमा निस्कने कार्यतालिका रहेको छ । केन्यामा रहँदा नेपालले पाँच खेलको टी–२० सिरिज र तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ।

भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरे पनि पहिलो पटक कुनै अन्तराष्ट्रिय फुल टिम समाल्न लागेका हुन् ।