थप आठ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि

साउन २५, काठमाडौ – पछिल्लो २४ घण्टामा थप आठ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार छ हजार सात सय पाँच जनामा गरिएको परीक्षणमध्ये छ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठसय ८५ पुगेको छ । काठमाडौँ उपत्यकामा तीन सय जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ५३, भक्तपुर १८ र काठमाडौँमा दुईसय २९ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए।

यस्तै आज कोरोना भाइरसबाट निको भइ चार सय १४ जना घर फर्किएका छन् । साउन एक गतेको सङ्क्रमण दर चार प्रतिशत रहेकामा आज १३ प्रतिशत पुगेको अधिकारीले बताए । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको निधन भएको छ । हालसम्म ११ हजार नौसय ७७ जनाको सङ्क्रमणबाट निधन भएको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला मोरङ रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट र हुम्ला छन् ।

हाल होम आइसोलेशनमा पाँच हजार पाँच सय ७१ जना, संस्थागत आइसोलेशनमा दुई सय १४, सघन उपचार कक्ष (आइसियु)मा ६४ र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ३८ हजार आठ सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।