“निर्वाचनको मिति तय भएको छ, हामी खुुुसी छौँ” : उपाध्यक्ष नेम्वाङ

साउन १९, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गरेका छन । आज प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “निर्वाचनको मिति तय भएको छ, हामी खुुुसी छौँ । तर यस्ता महत्वपूर्ण विषयमा देशका प्रमुख दललाई थाहा हुुनपर्छ ।”

हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको जनाउँदै उनले हरेक गठबन्धन र तालमेल संसदीय मूल्यमान्यताबमोजिम हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । लोकप्रिय मतका आधारमा गत स्थानीय निर्वाचनमा एमाले पहिलो स्थानमा रहेको प्रसङ्ग उनले उल्लेख गरे। “हामीले समयमै निर्वाचन घोषणा हुनुपर्छ भनेको थियौँ । घोषणा गरेको मितिमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने नै हाम्रो चाहना हो । त्यस कुरामा हाम्रो सहयोग रहन्छ”, उनले भने ।

निर्वाचनमा आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान एमालेले तयारी गरेको जनाउँदै उनले आउने निर्वाचनमा जनताको आर्शिवाद रहनेमा विश्वस्त रहेको बताए। “आवधिक निर्वाचन घोषणा भएको छ अब जनताले फैसला गर्नेछन् । निर्वाचनमा हामीले उत्साहपूर्वक सहभागी हुनुछ”, उपाध्यक्ष नेम्वाङले भने । पार्टीले निर्वाचनको तयारीका क्रममा विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेको बताउँदै उनले दृढ विश्वासका साथ जनताका बीचमा जाने तयारीमा रहेको उल्लेख गरे।