निडर भएर कलम चलाउन अध्यक्ष ओलीको आग्रह

साउन ११, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।

आज दिउँसो झापाको विर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगत्लाई आह्वान गरेका हन्। उनले भने, “बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मी निडर भएर मैदानमा उत्रिनुपर्छ ।” एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको उहाँको आरोप थियो । उनले यो देश गठबन्धनको मात्र हो जस्तो भइरहेको टिप्पणी गरे । अध्यक्ष ओलीले सञ्चारकर्मीले देश, जनता र लोकतन्त्रप्रति बफादार भएर सत्य लेखिदिन आग्रह गरे । पूर्वजले ज्यान दिएर जोगाएको देश र जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पत्रकार जगत्ले संवेदनशील, सचेत र दृढ भएर कलम चलाउनुपर्ने उनको जोड थियो ।

“हाम्रा पुर्खाले ज्यान दिएर देश बचाए, हामी देशका लागि बोल्न पनि डराउँछौँ भने बेठीक हुन्छ । लोकतन्त्र हामीले जेलनेल खटेर ल्याएको प्रणाली हो”, उनले भने ।