कमाउन थाल्यो नेपाल एयरलाइन्सले

साउन १०, काठमाडौँ – र्थिक रुपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पछिल्लो समय आफूलाई सक्षम बनाउँदै लगेको छ ।

निगम व्यवस्थापनमा नयाँ नेतृत्व आउनेबित्तिकै ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ । निगमले आवश्यक परेका बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था रहेको उल्लेख गरेको छ । निगम व्यवस्थापनका अनुसार अहिले निगमले रु तीन अर्ब २७ करोड जतिबेला पनि चलाउन सक्छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश गर्दा रु ५८ करोड नगद मौज्दात भएकामा करिब रु दुई अर्बको नगद मौज्दात भई रु एक अर्ब ३५ करोड (कर्मचारी सञ्चय कोषलाई ९० करोड) ऋण भुक्तानी गरिएको छ ।

दुई वर्षसम्म निगमले ऋण तिर्न नसकेको अवस्थालाई चिर्दै हाल निगमको अवस्था निकै राम्रो अवस्थामा रहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए । ओभर ड्राफ्ट रकम भुक्तानीले पाँच महिनाको अवधिको निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्व बापतको रकमसमेत बचत हुन गएको छ । यो ब्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ ।