छोराछोरी हुर्काइमा अभिभावक नै गलत छन् – विजय ज्ञवाली, बालमनोविद्

असार २७, काठमाडौं – छोरी भएकाले दिनहुँ शारीरिक शोषण, यौन हिंसा तथा मानसिक यातना भोगिरहनुपरेको छ । छोरीलाई सानैदेखि कसरी खाने, बोल्ने र हिँड्ने भनेर सिकाइन्छ । छोरीलाई यस्तो नगर, उस्तो नगर भनेर सुझाइन्छ । यो मानेमा छोरालाई खासै ध्यान दिइन्न ।

बालमनोविद् विजय ज्ञवालीका अनुसार हाम्रो समाजमा छोरा र छोरीको हुर्काउने तरिका नै बेग्लै छ । ‘तँ छोरी होस्’ भनेर सानैदेखि धेरै कुराबाट वञ्चित गराइन्छ ।यसै क्रममा उनलाई छोरा र छोरीमा दिइने संस्कार, अभिभावकको मनोबिज्ञान लगायतको बिषयमा गरिएको कुराकानी

छोरीलाई धेरै कुरामा बन्देज लगाउदै संस्कारी बनाउनु पर्दछ भनेर सिकाइन्छ तर अभिभावकले यही कुरा छोरालाई किन सिकाइँदैन ?

पितृसत्तात्मक सोचको कारण हो, यो । हाम्रो बुझाइ नै पुरुष भनेको संरक्षण गर्ने हो । संरक्षक भनेको उनीहरूले जे कदम चालेपनि सही हुन्छ भन्ने हो । संरक्षकले कसैको कुभलो गर्दैन । मनोसामाजिक विकास नै त्यही किसिमले भएको छ । सम्पत्ति, समाज, परिवारको संरक्षक गर्ने पुरुष हुन् । छोरी भनेको घरको इज्जतका रूपमा लिइन्छ । छोराले त पछि बुढेसकालमा पाल्ने हो, त्यसैले उसलाई सानैदेखि बलवान् बनाइन्छ । त्यही छोरीलाई मानसिक रूपमा कमजोर बनाइन्छ । त्यसैले छोरालाई जे गर्न पनि छूट दिइन्छ ।

छोरीलाई जसरी नियन्त्रण गरिन्छ । तर, छोरामाथि यस्तो नियन्त्रण गरिँदैन । यसमा अभिभावकको कस्तो मनोविज्ञानले काम गरेको होला ?

अभिभावकको चिन्ता चितासँग जोडिएको हुन्छ । यसको मतलब मरेपछि काजकिरिया छोराले नै गर्नुपर्छ भन्ने चलन छ । अर्को कुरा हाम्रो समाजले छोरालाई हरेक काम गर्न छूट दिएको छ । छोरीलाई इज्जतसँग जोडिन्छ । यहाँ केही घटना घटे हाम्रो समाजले कसलाई दोष दिन्छ रु कति सजिलैसँग पुरुषलाई निर्दोष साबित गरिदिन्छ । गल्ती चाहे पुरुषको होस्, ऊ त केटा मान्छे हो केटीले बुझ्नुपर्ने होइन र रु त्यसैकारण छोरीलाई सानैदेखि यही कुरा सिकाइन्छ ।

छोराछोरी हुर्काउने क्रममै हामीले विभेद गरिरहेका छौं ?

बालबालिकाले अभिभावकत्व नै गलत पाइरहेका छन् । बच्चाहरूलाई सानैदेखि कामको आधारमा विभेद गरिनुहुँदैन । चाहे छोरा होस् छोरी दुवैलाई सबै काम सिकाउनु जरुरी हुन्छ । जुन कुरा छोरीलाई सिकाइन्छ त्यो कुरा छोरालाई पनि सिकाउनुपर्छ । सीपमा कुनै लिंगभेद हुँदैन । आफ्नो बच्चालाई सही संस्कार सिकाउने कुरामा जोड दिनुपर्छ ।

बच्चाहरूलाई कार्टुन देखाउँदा होस् वा कथा सुनाउँदा कन्टेन्टमा ध्यान दिनुपर्छ । जस्तो हामी कथा भन्दा आमा खाना पकाउनुहुन्छ बाबा अफिस जानुहुन्छ भन्छौं तर हामी आमा अफिस जानुहुन्छ बाबा खाना पकाउँदै हुनुहुन्छ कहिल्यै भन्दैनौं । आमाले घरको काम गर्नुहुन्छ । बुवा पैसा कमाएर ल्याउनुहुन्छ । घरको पुरुष सदस्यले महिला सदस्यको इज्जत एवं सम्मान गर्नुपर्छ ।