विपद् सतर्कता अपनाउन जुट्दै स्थानीय तह

असार १६, खलङ्गा -मनसुन थप सक्रिय हुन थालेपछि जुम्लाका स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेका छन् ।

विपद् पूर्वतयारीमा जुट्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले अग्रह गरेको छ । प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटोछरितो राहत उद्धार र पुनःस्थापनका लागि स्थानीयतह विपद् पूर्वतयारीमा लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताए । जिल्लाका आठवटै पालिकाले आगामी आवको बजेटमा समेत विपद् व्यवस्थापनका लागि न्यूनतम रु १५ लाखदेखि रु ५० लाखसम्म बजेट विनियोजन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा यहाँका स्थानीय तहका प्रमुख र उपप्रमुखले विपद् जोखिम न्यूनीकरणका लागि अन्तरपालिकाबीच प्रभावकारी समन्वय र सहकार्य गरिने प्रतिबद्धता गरेका छन् । पूर्वसूचना, तत्काल जनशक्ति परिचालन, राहत उद्धार तथा पुनःस्थापनका लागि अन्तरपालिकाबीच हातेमालो गरिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।

चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले विपद् पूर्वतयारीसँगै विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताए । हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको बताए ।