पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

जेठ २७, काठमाडौ – झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।

विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीन वटा सेकेण्डरी अस्पताल र १० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । चितवनसहित छ जिल्लामा अस्पताल र सेवा केन्द्र रहेका छन् । भारतयि नागरिकसहित १२ जिल्लाका बासिन्दाले प्रत्यक्षरुपमा सेवा पाएका छन् ।

सङ्घका सभापति एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेलले चितवनका सबै पालिका र छिमेकी जिल्लाका सबै पालिकामा सेवा विस्तार अभियान अघि बढाइएको बताए। चितवनका कालिका र राप्तीबाहेकका पालिकामा आँखा उपचार सेवा दिइँदै आएको छ । ती दुई पालिकामा पनि छिट्टै सेवा सञ्चालनका लागि छलफल भइरहेको उनले जानकारी दिए। ठाउँ उपलब्ध गराई एक जना कर्मचारीको तलब सम्बन्धित पालिकालाई उपलब्ध गराउन अनुरोध गरिएको छ । अन्य व्यवस्थापन सङ्घले गर्ने उनको भनाइ छ ।

अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर डा सङ्गीता शर्मा भण्डारीले हाल अस्पतालले भरतपुर महानगरपालिका–१० स्थित भरतपुर उकालोमा चिजकुमार विष्णुकुमारी बहिरङ्ग विभाग, पर्साको ठोरी, नवलपरासीको कावासोती र बाराको सिम्रनगढमा सेकेण्डरी अस्पताल सञ्चालनमा ल्याएको बताए । त्यस्तै चितवनको चनौली, माडी, कुरिनटार, रत्ननगर, पर्सा, धादिङको बेनीघाट र सल्यानटार, नवलपुरको चोरमारा र होप्सीकोट र सिन्धुलीको दुधौलीमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

सेकेण्डरी अस्पतालमा सबै सेवा उपलब्ध गराइएको छ भने उपचार केन्द्रमा शल्यक्रियाबाहेकका सेवा दिइँदै आएको छ । गएको असार १५ गते यता जेठ १५ गतेसम्म सेकेण्डरी अस्पताल र आँखा उपचार केन्द्रबाट ४५ हजार ३१० जनालाई सेवा दिइसकिएको छ । भरतपुर आँखा अस्पताल र चिजकुमार विष्णुकुमारी बहिरङ्ग विभागबाट एक लाख चार हजार ६२४ जनालाई सेवा दिइएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए ।

यसै अवधिमा विभिन्न ठाउँमा गरिएका शिविरमा ५९ हजार १४६ को आँखाको निःशुल्क परीक्षण गरिएको थियो । १११ ठाउँमा एक दिन शिविर र १७ ठाउँमा शल्यक्रियासहितको सर्जिकल शिविर गरिएको उनले बताए। एक दिन शिविरमा परीक्षणको क्रममा शल्यक्रिया गर्नुपर्नेलाई भरतपुर आँखा अस्पतालमा ल्याएर गरिएको छ । घिमिरेका अनुसार यस वर्ष शिविरमा चार हजार ३४१ को निःशुल्क शल्यक्रिया गरिएको छ ।

विभिन्न दाताबाट सहयोग जुटाएर शल्यक्रिया गरिएको हो । एक जना व्यक्तिको आँखाको शल्यक्रिया गर्दा रु सात हजार ५०० हाराहारी खर्च हुन्छ । भरतपुर आँखा अस्पतालले आधा रकम व्यहोरेर बाँकी दाताको सहयोगमा निःशुल्क शिविर गरिएको हो । उनको भनाइमा रु तीन करोड २५ लाख ५७ हजार बराबरको शिविरमा निःशुल्क शल्यक्रिया गराइएको छ । यसै अवधिमा भरतपुर आँखा अस्पतालमा सात हजार १४८ को शल्यक्रिया गरिएको छ ।

शिविर सञ्चालन र शल्यक्रियामा डाक फाउण्डेशन, सेवा फाउण्डेशन, नेपाल सरकार, लायन्स इन्टरनेशनल, स्थानीय संघ संस्था र भरतपुर आँखा अस्पतालले साझेदारी गर्दै आएका छन् । अस्पतालका उपनिर्देशक डा पुष्पा गिरीले पालिकामा सेवा पु¥याउन सकेमा लामो समयदेखि आँखाको समस्या देखिएकाको उपचार गर्न सकिने बताए। ग्रामीण क्षेत्रसम्म पुगेर शिविर सञ्चालन गर्दा लामो समय आँखाको उपचार नपाएकाले घरदैलोमै सेवा पाउने गरेको उनले बताए । स्थानीय सरकारसँग साझेदारी गरेर कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने उनको भनाइ छ ।

अस्पतालका प्रशासक दयाशङ्कर चौधरीले ठोरीको सेकेण्डरी अस्पतालले भारतीय नागरिकलाई समेत सेवा दिन सकेको बताए । क्रमशः आँखा उपचारलाई पालिका पालिकासम्म पु¥याउनुपर्ने उनको भनाइ छ । कोभिडका दुई वर्ष धेरैलाई सेवा दिन नसकेकोमा यस वर्ष निकै धेरैले सेवा पाएको उनी बताउछन । बाह्य शिविर प्रभावकारी बनाएर सेवा दिने काममा आँखा अस्पताल जुटेको उनी बताउछन । सरकार र दाताको सहयोगका कारण अस्पतालले सेवा विस्तार गर्न सफल भएको उनी बताउछन ।