सवारी चालक अनुमतिपत्र पाउन सास्ती

बैशाख २७,बाग्लुङ – बागलुङ नगरपालिका–३ भलाटाकुराका सुमन किसानले सवारी साधन चलाउन सिकेको दुई वर्ष भयो । उनको हातमा सीप त छ तर त्यसको प्रयोग गर्ने अधिकार छैन । उहाँले सवारी साधन चलाउने अनुमतिपत्र ९लाइसेन्स०को परीक्षा दिन पाएका छैनन् ।

महँगो शुल्क तिरेर सवारी साधन चलाउन सिक्नुभएका किसान आफ्नो मेहनत खेर जाने हो की भन्ने चिन्तामा हुनुहुन्छ । बागलुङमा चार पाङ्ग्रे सवारी साधनका लागि सवारी चालक अनुमतिपत्रको परीक्षा नभएको १० वर्ष भयो । पोखरा, काठमाडौँ, बुटवललगायत सहरमा जाँदा एकै पटकमा लाइसेन्स बन्दैन । धेरै पटक धाउँदा खर्च धान्नै कठिन हुने उनको गुनासो छ । आफूले चिने जानेका र गाउँघरमा पुग्ने जो कोहीसँग किसानले सोधी खोजी गर्छन् ‘सवारी चालक अनुमतिपत्रका लागि परीक्षा कहिले हुन्छ ?

किसान जस्ता धेरैको अहिले यही समस्या छ । पछिल्लो समय स्वदेशमा होस् वा विदेशमा रोजगारीका लागि सवारी चालक अनुमतिपत्र अनिवार्य जस्तै भएको छ । लामो समय यातायात व्यवस्था विभागले परीक्षाको प्रबन्ध गर्न नसक्दा युवा समस्यामा छन् । यातायात व्यवस्था कार्यालय बागलुङले लामो समयदेखि लाइसेन्सको फार्म खुलाएको छैन । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार घर दैलोमा मत माग्न पुग्दासमेत धेरैले यसबारे प्रश्न गर्ने गरेका छन् ।
जैमिनी नगरपालिका–६ का दीपक नेपालीले भने, “मैले मकवानपुर पुगेर लामो समय पर्खेर र पैसा खर्चेर लाइसेन्स लिए ।’’ साना तथा ठूला सवारी साधन चलाएर स्वरोजगार बन्न युवा पुस्ता आकर्षित भएको पाइए पनि लाइसेन्स नहुँदा उनीहरु त्यसबाट वञ्चित छन् ।

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाका अनुसार २०६९ सालमा नयाँ मापदण्ड लागू भएदेखि दुई पाङ्ग्रे सवारी साधन बाहेकको सवारीचालक अनुमतिपत्र जारी भएको छैन । कोरोना महामारीको समयमा रोकिएको दुई पाङ्ग्रे सवारी साधन चालक अनुमतिपत्रको परीक्षा नियमित हुन नसक्दा सर्वसाधारण मर्कामा छन् । “दुई वर्षको बीचमा एकपटक खुलेको अनलाइन फारम भरेकाको परीक्षा लिन भदौसम्मको तालिका छ’’, उनले भने , “अब नयाँ व्यवस्थापनसहित चुनावपछि फारम खुल्छ ।’’

चार पाङ्ग्रे सवारी साधनका लागि भने प्रयोगात्मक परीक्षा लिने मापदण्ड पुगेको संरचना बागलुङमा छैन । पटक पटक सरोकारवालाबीच मापदण्ड पुग्ने मैदानको खोजीका विषयमा छलफल भए भए पनि समस्या नसुल्झेको थापाले बताए । “अहिले एक दुई ठाउँबाट प्रस्ताव आएको छ, हामीले भाडामै लिएर भए पनि मैदान तयार गरौँ भनेर लागेका छौँ’’, उनले भने , ‘सोह्र रोपनी जग्गा एकै ठाउँमा चाहिन्छ, कार्यालयसँग जग्गा छैन ।’’