धनुषाधामलाई पर्यटकीय नगर बनाउने योजना सार्वजनिक

बैशाख २५, काठमाडौं –  ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषाको धनुषाधाम नगरपालिकालाई पर्यटकीय नगरीका रूपमा विकास गर्ने योजनालाई समेटिएर धनुषाधाम नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।
धनुषाधाम नगरपालिकाको नगरप्रमुख पदमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिनुभएका देवेन्द्रकुमार यादव (दीपक) र उपप्रमुखका उम्मेदवार अम्बिकाकुमारी विश्वकर्माले उक्त प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषाधाम नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि करिब २५ किलोमिटर धार्मिक प्राकृतिक पदयात्रा मार्ग निर्माण गर्ने, नगर क्षेत्रमा रहेको धनुषा मन्दिर र राम मन्दिरलाई थप सौन्दर्यीकरण र गुणस्तरीय सरसफाइलाई प्राथमिकतामा राखी धनुषाधाम धर्मशालालाई यात्री निवासका रूपमा विकास गरिने तथा सांस्कृतिक सङ्ग्राहालयको स्थापना र बाल उद्यानको निर्माणलाई प्राथमिकता दिइने उल्लेख छ ।

समृद्ध नगरका लागि कृषि भन्ने नाराका साथ चुनावी प्रतिस्पर्धामा आएको आफूहरु निर्वाचित भएपछि तत्कालै नगरप्रमुखको अध्यक्षतामा कृषि नगर विकास समिति गठन गरी कृषकले वर्षाँैदेखि खेप्दै आएका मलखाद्य, बीउबिजन, कृषि सामग्रीलगायतका समस्यालाई समाधान गरिने नगरप्रमुखका उम्मेदवार यादवले बताउनुभयो । एक गाउँ एक उत्पादनको नीतिलाई प्राथमिकताका साथ लागू गरिने उल्लेख गर्नुहुँदै उहाँले कृषि बीमा लागू गरिने र दूध उत्पादक सहकारीमार्फत हरेक वडामा दूध सङ्कलन केन्द्र स्थापनालाई जोड दिने जानकारी दिए ।
नगर क्षेत्रका सडकहरूको स्तरोन्नति गर्दै हरेक वर्ष पाँचदेखि १० किलोमिटर कालोपत्र सडक निर्माण गर्ने, सबै वडामा सेवा पुग्ने गरी तीनवटा नगरबस सञ्चालन गर्ने र अलपत्र अवस्थामा रहेको बसपार्क सञ्चालनमा ल्याउने आफूहरूको प्रतिबद्धता रहेको नगरप्रमुखका उम्मेदवार यादवले बताए ।

सो अवसरमा उपप्रमुखका उम्मेदवार अम्बिकाकुमारी विश्वकर्माले दक्ष जनशक्ति निर्माणका लागि सबै माध्यमिक विद्यालयलाई स्तरोन्नति गरी प्राविधिक तथा व्यावसायिक विद्यालयका रूपमा विकास गर्ने आफूहरुको प्रतिबद्धता रहेको बताए । फरक क्षमता भएका, गरिब, बिपन्न, दलित एवं जनजाति समुदायलाई ल्यापटपको व्यवस्था गर्ने, प्रतिविद्यार्थी रु १० हजार छात्रवृत्ति तथा अतिविपन्न समुदायका विद्यार्थीलाई एक इञ्जीनियर र दुई ओभरसियर कोर्ष अध्ययन गर्नका लागि सम्पूर्ण छात्रवृत्ति दिइने व्यवस्था गरिने आफूहरूको योजना रहेको उहाँले उल्लेख गरे ।