तीन गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध

बैशाख २५, काठमाडौं  – स्थानिय तह निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका मध्ये तीन गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचत भएका छन् ।

निर्वाचन आयोगले निर्विरोध निर्वाचित उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । यहि वैशाख ११ र १२ गते मनोनयन दर्ता गराउँदा निर्विरोध भएका उम्मेदवारको विवरण आयोगले शनिबार सार्वजनिक गरेको हो । आयोगका अनुसार डोल्पाका तीन गाउँपालिकाका अध्यक्ष निर्विरोध भएका हुन्।

काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगदकुमार राना, छार्का ताङसोङ गाउँपालिका अध्यक्षमा समाजवादीकै सेनाङ गुरुङ र शे–फोक्सुन्डो गाउँपालिकामा एमालेका धावा सम्डुक गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा, डोल्पाको काइके गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका निमा बुढा, छार्का ताङसोङको उपाध्यक्षमा कर्म ढुन्डप गुरुङ र डोल्पोबुद्धको उपाध्यक्षमा समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्वाचित भएका छन् ।

यसैविच उम्मेदवारी दर्ता नै नपरेपछि १२३ वडामा दलित महिला सदस्य खाली भएका छन् । कर्णालीका ३७ वडामा महिला सदस्यको उम्मेदवारी नै परेको छैन । काठमाडौं, भक्तपुर र ललितपुरमा पनि उम्मेदवारी परेको छैन । यस्तै गण्डकीमा २५, प्रदेश १ मा ६, वाग्मतीमा ३७ वडामा उम्मेदवारी परेको छैन ।

काठमाडौं भक्तपुर र ललितपुरमा मात्रै २६ वडामा दलित महिलाको पद रिक्त भएको छ । मधेसमा ६ र सुदूरपश्चिममा १० पद रिक्त भएका छन् । ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।