मतदान केन्द्रमा मतदान अधिकृत खटाउने तयारी

बैशाख २५, तनहुँ  – आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई कार्य क्षेत्रमा खटाउने तयारी गरेको छ ।

उनीहरुलाई तालिम दिएर सम्बन्धित मतदान केन्द्रमा खटाउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।
जिल्लाका १३६ मतदानस्थलका २९७ मतदान केन्द्रमा मतदान र सहायक मतदान अधिकृत खटाइँदैछ । निर्वाचनमा खटिने २९७ मतदान र २९७ सहायक मतदान अधिकृतलाई शुक्रबार र शनिबार तालिम प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक र कार्यालय सहयोगीको नामावली शनिबार नै प्रकाशित गरेको छ । ती कर्मचारीलाई नियुक्तिपत्र, मतपत्र र आवश्यक निर्वाचन सामग्री हस्तान्तरण गरी मतदान केन्द्रमा पठाइने उनले बताए ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा अवस्था मजबुद बनाइएको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे । ‘मतदान केन्द्रमा सुरक्षाको अवस्था मजबुद बनाइएको छ, सुरक्षामा कुनै कसुर बाँकी राखिदैन ’ उहाँले भन्नुभयो, ढुक्क भएर निष्पक्षरूपमा जिम्मेवारी वहन गर्नेतर्फ ध्यान दिनुहोला ।” मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ अर्यालले बताए ।

प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले हरेक मतदान केन्द्रमा प्रहरी परिचालित हुने भएकाले ढुक्क हुन आग्रह गरे । । निर्वाचनमा कुनै शङ्कास्पद गतिविधि भएको पाइए तत्कालै प्रहरीलाई खबर गर्न उनले अनुरोध गरे । हरेक मतदान केन्द्रमा प्रहरी परिचालन गरिएको छ, सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ”, उनले बताए । सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद अर्यालले शान्तिपूर्णरूपमा चुनाव सम्पन्न गराउन प्रहरी तत्पर रहेको बताए ।

तालिममा कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा सिकाइएको निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए ।
मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के–के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ ।

जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार ३७६ जनशक्ति परिचालन गरिनेछ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिएको छ ।

तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए ।