म्याग्दीमा चुनाव प्रचार तीव्र

बैशाख २१, काठमाडौं – यही वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचनको दिन आउन एक साता बाँकी रहँदा म्याग्दीमा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् ।

आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै जनताका घरदैलोमा भोट माग्दै हिँडेका उम्मेदवार र कार्यकर्ताहरुका बीचमा विगतका निर्वाचनको जस्तो तिक्तता देखिँदैन । बरु अन्तरदलीय उम्मेदवार र कार्यकर्ताहरुको चुनाव प्रचार अभियानमा जम्काभेट हुँदा अङ्गालो हालेर आत्मीयता साटासाट गरेको दृश्य निकै रोमाञ्चक देखिने गरेको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु, नेकपा ९एमाले०, राष्ट्रिय प्रजातन्त्र पार्टी, र अन्य राजनीतिक दलहरु आ–आफ्नै चुनावी एजेण्डा लिएर मतदाताको घरदैलामा पुगेर मत मागिरहेका छन् । यातायात, शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित आफ्नै घरको आँगनमा उम्मेदवारलाई भेट्दा मतदातासमेत उत्साही बनेका छन् ।

विगतका निर्वाचनभन्दा यस पटकको निर्वाचनमा प्रचार शैली र उम्मेदवारहरुको व्यवहारमा समेत परिवर्तन देखिएको मतदाताहरुले बताएका छन् । उम्मेदवार गाउँमा पुग्दा मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा प्राथमिकताको आधारमा जनताका समस्याहरु समाधान गर्ने प्रतिबद्धतासमेत जनाउने गरेका छन् ।

चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरुको दौडधुप पनि बिहानैदेखि सुरु भएर राति अबेरसम्म चल्ने गरेको छ । बिहान ६ बजेदेखि नै चुनावी अभियान सुरु गर्ने र आफ्ना उम्मेदवारलाई लिएर बाजागाजासहित राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु हिँड्ने गरेका छन् । यसरी हिँड्दा कतिपय स्थानमा अन्तरदलीय उम्मेदवारबीच भेट हुँदासमेत एक अर्कामा अङ्गालो मारेर आत्मीयता साटेको देखिन्छ ।

बेनी नगरपालिका–२ ज्यामरुककोटका नारायणप्रसाद सापकोटा विगतमा भन्दा यसपालिको चुनाव आफूलाई फरक लागेको बताए । उनले भने, “मतदाताहरुमा राजनीतिक चेतना बढेको हो वा उम्मेदवार र नेता, कार्यकर्ताहरुको व्यवहार फेरिएको हो यसपटकको दलहरुको चुनाव प्रचार गर्ने तरिका मलाई नौलो लागेको छ । विगतमा गाउँघरमा चुनाव आएपछि वल्लोपल्लो घरबीच बोलचाल बन्द हुन्थ्यो । कसले ठूलो झण्डा राख्ने भन्ने होडबाजी नै चल्थ्यो । यसपालि सबै ठाउँमा शान्त छ ।”

मालिका गाउँपालिका–५ की ७० वर्षीया तीलु बूढाले विगतमा जस्तो चुनावी चहलपहल यसपालि नभएको अनुभव सुनाए । “पहिला–पहिला त घरघरमा झण्डा राखिदिने, चुनाव प्रचारमा हिँडेबापत दैनिक ज्याला दिने, आपसमा कुटपिट गर्नेसम्म गर्थे, तर यसपटक भने त्यस्तो केही भएको छैन, भोट हाल्ने दिन आउनै लाग्दासमेत शान्तिपूर्ण रुपमा चुनाव प्रचार गरेका छन् ।”

पहिलोपटक स्थानीय तहको चुनावमा भाग लिन लाग्नुभएकी बेनी नगरपालिका–४ की लक्ष्मी पौडेल निकै उत्साहीछन् ।उनले भने, “कसैको करकापमा परेर वा अभिभावकले भनेको पार्टी र व्यक्तिलाई भोट दिन्न । जनताको लोकप्रिय, युवाको समस्या पहिचान र समाधान गर्नेलाई दिन्छु ।” उहाँले दैनिकजसो घरमा विभिन्न पार्टीका उम्मेदवार लर्को लागेर भोट माग्न आउने गरेको बताए ।

यसपालि गाउँका अगुवा, परिवारका सदस्य र साथीसङ्गातीको बीचमा पनि कसलाई भोट दिने र किन दिने भन्ने विषयमा छलफल हुने गरेको मतदाताहरु बताउँछन् । जुनसुकै पार्टी भए पनि हाम्रोलाई नभएर राम्रोलाई भोट दिऊँ भन्दै सरसल्लाह हुने गरेको बगरफाँटका युवा सचिन कार्कीको भनाइ छ । उहाँले आफूले भोट दिएर जिताएका जनप्रतिनिधि फेरि फर्केर गाउँ आएर बाटो, पानी, ढल, शिक्षा, स्वास्थ्यको बारेमा चासो राखेर काम गरुन् भन्ने अपेक्षा व्यक्त गर्नुभयो । उनले भन्नुभयो, “हामीले मत दिन्छाँै, उनीहरुले हामीलाई विकास दिनुप¥यो ।”