सचिव डा.रेग्मी -ओझेलमा परेका संस्थामा संभावनालाई उजागर गर्ने क्षमताले युक्त प्रशासक

बैशाख १५, काठमाडौं  – नेपाल सरकार अन्तर्गत धेरै मन्त्रालयहरु छन् । सवै मन्त्रालयहरु कार्यक्षेत्र र अधिकारका दृष्टि ले समान छन् तथापि केही मन्त्रालयहरु बजेट कार्यक्षेत्र र अधिकारका दृष्टिले शक्तिशाली भए पनि धेरै जसो मन्त्रालयहरु लो प्रोफाइल अवस्थामा रहेका छन् कारण ती मन्त्रालय सानो बजेटकै कारणले लो प्रोफाइल अवस्थामा रहन बाध्य छन् यसको अतिरिक्त राजनैतिक र प्रशासनिक नेतृत्वमा इच्छाशक्ति भएन भने मन्त्रालय कमजोर देखिनु स्वभाविकै हो । यसको अपवादमा प्रशासनिक नेतृत्वमात्रै प्रो एक्टिभ र सकारात्मक इच्छाशक्तिले युक्त भैदियो भने पनि मन्त्रालय चलायमान र प्रभावकारी भैदिन्छ भन्ने उदाहरण युवा तथा खेलकुद मन्त्रालय पनि हो ।

हो आज हामी यस्तै एउटा असल र इमान्दार प्रशासनिक नेतृत्वले मन्त्रालय प्रभावकारितामा कति फरक पार्दछ भन्ने बिषयलाई कोट्याउन गैरहेकाछौं । कुनै पनि मन्त्रालय ठूलो होस वा सानो, त्यो संस्थाको नेतृत्वकर्ता र उस्को नियत असल भएको खण्डमा ढिलो चाँडो त्यसले सकारात्मक परिणाम दिन्छ नै । नेपाल सरकारका सचिव डा दामोदर रेग्मीले युवा तथा खेलकुद मन्त्रालयमा सकारात्मकताको यस्तै आशापुन्ज छर्न सफल भएका छन् । निजामती प्रशासनमा लामो समय अर्थ मन्त्रालय र अन्य धेरै मन्त्रालयहरुमा सकारातमक भूमिका निर्वाह गरेका उनले युवा तथा खेलकुद मन्त्रालयको लो प्रोफाइल भूमिकाको सुधारमा प्रयत्नशील रहदै आएका छन् ।

अधिकांश कर्मचारी सकभर यस मन्त्रालयमा आउन खोज्दैनन् आइहाले पनि मन्त्रालयलाई ट्रान्जिट बनाउदै अन्य मन्त्रालयमा सरुवा मिलाउछन् । मन्त्रालयको बजेट देशको कूल बजेटको ०.१६ प्रतिशत रहेको छ जवकि देशमा युवाको जनसख्या नै ४०. ३५ प्रतिशत रहेको छ र खेल पूर्वाधारमा ठूलो धनराशीको आवश्यकता पर्दछ । २०६५ सालमा स्थापना भएको युवा तथा खेलकुद मन्त्रालय १३ वर्ष देखि यहि नियति भोग्दै आइरहेको छ । यिनै प्रतिकूलताका बावजुद सचिव डा दामोदर रेग्मीको नेतृत्वमा मन्त्रालय क्रमश गतिवान वन्दै गैरहेको छ । मन्त्रालयले गेम चेन्जर कार्यक्रमको रुपमा मानवता प्रबर्ध्दनमा युवाहरुको सकारात्मक भूमिका सिर्जना गर्न नेपाल संस्कृत विश्व विद्यालय र विभिन्न शिक्षण संस्थाहरु संग सहकार्य गर्दै आएको छ । यसको अतिरिक्त यस अभियानमा सामाजिक विकृति र विसंगति विरुध्द युवा जागरुकता फैलाउने काम समेत भएको छ । सचिव डा रेग्मीले यसको समन्वयको जिम्मेवारी उप सचिव यमेन्द्र उपाध्यायलाई दिएको वताए ।

सचिव डा. रेग्मी यस अभियानमा थप परिमार्जन गर्दै महिला युवाको सवाल, दलित युवाको सवाल, पिछडिएका वर्गका युवाको सवालमा थप कार्य गर्ने र देश भित्रै युवा सहभागिता र युवाहरुमा आशावादिताको सञ्चार प्रवाह गर्ने सोचाइमा रहेको वताउछन् । राष्ट्रिय युवा परिषदवाट युवाहरुमा नेतृत्व विकासका लागि युवा नमूना संसद कार्यक्रम, सीप विकास अन्तर्गत थ्री बी अर्थात जेनरेट योर विजनेस, स्टार्ट योर विजनेस र इम्प्रुभ योर विजनेस कार्यक्रम संचालन भैरहेको छ । यी कार्यक्रमहरुलाइ काठमाण्डौ केन्द्रित मात्र हुन नदिइ देशका दूर दराजमा पुर्याउने उनको योजना रहेको छ । सीप विकास उद्मशीलता संग आवद्ध हुनु पर्ने उनको भनाइ छ । यसका लागि साना युवा स्वरोजगार कोषको लगानी प्रवाह सवै युवाको पहुंचमा हुनु पर्ने र रकम प्राप्त गर्ने प्रक्रिया सरल र सहज वनाउने काममा उनी लागेका छन् ।

युवा आवद्धताको अर्को आयाम विपद व्यवस्थापन र सामाजिक मामिलाको सम्बोधनमा युवा स्वयं सेवाको प्रबर्ध्रदन हुनु पर्दछ भन्ने उनको भनाइ रहेको छ । यसका लागि यसै वर्ष नेपाल स्काउटवाट यी कार्यक्रमहरुमा तीव्रता दिइएको छ । रेग्मी आगामी वर्षवाट राष्ट्रिय युवा परिषद साना युवा स्वरोजगार कोष र नेपाल स्काउटका कार्यक्रमहरु वीच अन्तर आबध्दता गराइ तीनै निकायवाट सम्पादन हुने कामहरुलाई परिणाममुखी गराउने काममा लागेका छन् । खेल सवैलाई राष्ट्रियताको सूत्रमा आबद्ध गर्ने माध्यम हो । यो अर्थतन्त्रलाइ चलायमान गराउने र पर्यटन विकास गराउने माध्यम पनि हो । यसको लागि खेलकुदका विद्यमान संरचनाको प्रभावकारिताको अतिरिक्त खेल पूर्बाधार र खेल प्रतियोगिताको आयोजनामा निजी क्षेत्रको सहभागितालाइ प्रोत्साहित गरिनु पर्ने सचिव डा रेग्मीको विचार रहेको छ ।

खेललाइ विशिष्ट विधाको रुपमा विकास गर्न खेल विश्वविद्यालय स्थापनाको शुरुवात खेलाडी अस्पताल स्थापनाको अवधारणाको शुरुवात खेलाडी वीमा अवधारणाको शुरुवात र खेलाडीको योगदानको आधारमा पुरस्कार र भत्ता लाई सामयिक बनाउने कार्यको थालनी भएको देखिन्छ । खेल पर्यटन, साहिसक खेल विकास, उच्च धरातल खेल तालिम केन्द्र उनका प्राथमिकतामा रहेका छन् । उनकै पहलमा पाल्पा रानीमहल विच भलिवलको हव बन्ने क्रममा रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखको रुपमा रहदा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन उनले यति वैज्ञानिक ढंगले समायोजन टुंग्याए कि त्यसमा कतै,कसैको असन्तृष्टीका स्वर सुनिएन ।यसै अनुरुप उनले राष्ट्रिय खेलकुद परिषदका कर्मचारीको समायोजन लाई कार्यान्वयनमा ल्याउन आवश्यक कानूनी उपायको शुरुवात गरिसकेका छन् । लामो समय देखि खेलकुदमा प्रतिबन्धित औषधीविरुध्दको एन्टि डोपिंग संरचना बन्न सकिरहेको थिएन यो कार्य पनि उनले शुरु गरिसकेका छन् । प्रशासनिक नेतृत्वमा इच्छाशक्ति भयो भने लो प्रोफाइल वा ओझेलमा परेका संस्थाहरु पनि गतिवान र प्रभावकारी वन्न सक्दछन् र त्यहाका सभावनालाई उजागर गर्न सक्दछन् भन्ने यो एउटा असल उदाहरण हो ।

(युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीसँग गरिएको कुराकानीमा आधारित)