मोटरसाइकल, मोबाइलसहित१० प्रकारका सामान आयातमा रोक

बैशाख १४, काठमाडौं – सरकारले मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामानहरु भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको जनाएको छ ।

आउँदो असार मसान्तसम्मका लागि मोबाइल सेट, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन र २५० सीसीभन्दा बढी क्षमता भएका मोटरसाइकल ल्याउन रोक लगाइएको छ ।

यस्तै एम्बुलेन्स र शववाहन प्रयोजनका लागि बाहेक जीप, कार र भ्यान तथा सबै प्रकारका खेलौना र तास पनि नेपाल भित्र्याउन पाइँदैन । कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु र हिराको आयातमा पनि असार मसान्तसम्म रोक लगाइएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

कूटनीतिक नियोगका अधिकारीहरु तथा वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुले पनि नियमअनुसार आयात गर्न पाउनेछन् ।