पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतलको आदेश

चैत २४, काठमाडौं  – बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन नवलपुर जिल्ला अदालतले आदेश दिएको छ।

शाहविरुद्ध बुधबार थुनछेक बहस भएको थियो। शाहविरुद्धको थुनछेक बहसका क्रममा शाहका पक्षबाट ९ जना वकिलले बहस गरेका थिए भने पीडित किशोरीको पक्षबाट तीन जना सरकारी वकिलले बहस गरेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। शाहलाई बुधबार नै तनहुँ कारागार पठाइने भएको छ।

पीडित किशोरीले फागुन ११ गते दिएको किटानी जाहेरीका आधारमा तनहुँ प्रहरीले शाहलाई पक्राउ गरेको हो। किशोरीले सुरुमा तनहुँ प्रहरीमा र पछि गौंडाकोट प्रहरीमा जाहेरी दिएकी थिइन्।

पीडित किशोरीले आफूमाथि शाहले एक वर्षअघि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र पूर्वी नवलपरासीमा मुद्दा दर्ता गराएकी थिइन्। पीडितको जाहेरीका आधारमा शाहविरुद्ध नवलपुर अदालतमा चैत ३ गते सरकारी वकिलमार्फत मुद्दा दर्ता भएको थियो।