प्रभावकारी बन्दै ‘बालिका बचत’ कार्यक्रम

चैत १४,खोटाङ –  हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रम सुरु भएयता हालसम्म नगरपालिकाभरिका १२९ बालिकाको नाममा बचत गर्ने काम भइसकेको छ ।
कार्यक्रमअन्तर्गत हालसम्म ४६ बालिकाको नाममा खोलिएको बचत खातामा दोस्रो किस्ता र ८३ जनाको खातामा पहिलो किस्ताबापतको रकम जम्मा भएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिए । उनका अनुसार खाता खोलेको दश वर्षपछि नवीकरण गर्नुपर्नेछ ।

नगरपालिकाले वार्षिकरुपमा रु चार हजारका दरले तीन वर्षमा रु १२ हजार रकम जम्मा गरिदिने र त्यसमा घरपरिवारले पनि सकेको रकम जम्मा गर्ने गरेका छन् । यसबाट छोरीहरुको भविष्य उज्वल बन्ने आमाहरुको विश्वास छ ।
नगरपालिकाले छोरीको सम्मान र प्रोत्साहनका लागि सुरु गरेको सो कार्यक्रमअन्तर्गत खाता खोलिएका बालिकाको नाममा नगरपालिकाले जम्मा गरिदिएको भौचर सम्बन्धित बालिकाहरूका आमालाई प्रदान गर्ने गरिएको छ । समाजमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयासस्वरूप नगरपालिकाले सो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख बिमला राईले जानकारी दिइन् ।

कार्यक्रमअन्तर्गतको सहयोग पाउन गर्भावस्थामा आमाले नियमित स्वास्थ्य जाँच गरेको र वर्थिङ सेन्टर (प्रसूति गृह) वा स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाण सम्बन्धित वडा कार्यालयमा उपलब्ध गराउनुपर्नेछ । उपलब्ध प्रमाणका आधारमा वडाले रकम जम्मा गरिदिन नगरपालिकालाई सिफारिस गर्नेछ ।
वडाको सिफारिसका आधारमा नगरपालिकाले सम्बन्धित बालिकाको नाममा सालपा विकास बैंकमा खोलिएको खातामा रकम जम्मा गरिदिनेछ । कार्यक्रम सुरु गरेपछि नगरपालिकामा नियमित गर्भजाँच गराउने र वर्थिङ सेन्टरमा गएर सुत्केरी गराउने महिलाको संख्यासमेत वृद्धि हुँदै गएको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिएका छन् ।

कार्यक्रमअन्तर्गत छोरीको नाममा खाता खोलेर तीन वर्षको उमेर पुग्दासम्म किस्तागत रूपमा वार्षिक चार हजारका दरले खातामा रकम जम्मा गरिदिने गरेको छ । सालपा विकास बैंकको हलेसी शाखाले सो रकमको वार्षिक नौ प्रतिशतले ब्याज उपलब्ध गराउने छ ।

बैंक खातामा जम्मा भएको रकम बालिका १५ वर्ष पुगेपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको छ । नगरपालिकाले रकम जम्मा गरिदिएको खातामा स्वयम् बालिकाको परिवारले समेत आफूले सकेको रकम बचत गर्न सक्ने बैंकका प्रबन्धक भाष्कर श्रेष्ठले जानकारी दिए ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले भने अहिलेसम्म उक्त कार्यक्रम लागू गरेको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा बर्थिङ सेन्टर भने सबैमा सञ्चालन गरिएको छ ।