चितवनमा २७ दल दर्ता

चैत ९, चितवन  – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार छ ठूला दलबाहेक २७ वटा साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका २७ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।

कार्कीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवण बुझाउनु नपर्ने भएकाले २७ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको उनले बताए ।

स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्र थप गर्न आयोगमा आग्रह गरेको छ । उहाँका अनुसार विसं २०७४ मा भएको स्थानीय निर्वाचनका क्रममा जिल्लामा १६१ मतदानस्थल र ३७६ मतदान केन्द्र रहेका थिए ।

अहिले मतदान केन्द्र थप गरी ४६१ पु¥याउन लागिएको उनले बताए । जसअनुसार भरतपुर महानगरपालिकामा २०५, रत्ननगर नगरपालिकामा ६१, खैरहनी नगरपालिकामा ५७, कालिका नगरपालिकामा ३७, राप्ती नगरपालिकामा ४७, माडी नगरपालिकामा ३२ र इच्छाकामना गाउँपालिकामा २२ मतदान केन्द्र बनाउन कार्यालयले आयोगमा सिफारिस गरेको छ ।

निर्वाचनमा जिल्लामा तीन लाख ९८ हजार ७७१ मतदाता रहेका छन् । अझै केही थपघट हुनसक्ने कार्कीले बताउनुभयो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा तीन लाख १३ हजार तीन मतदाता थिए । गत स्थानीय तहको निर्वाचनमा भन्दा अहिले मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थप गर्न लागिएको हो ।

निर्वाचनको तयारीस्वरुप कार्यालयले चैत १५ गते जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ । सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने उनले बताए । निर्वाचनका लागि कार्यालयले कर्मचारी माग गर्ने क्रमसमेत सुरु गरेको छ । एउटा मतदान केन्द्रमा सातदेखि आठ जनाको दरले कर्मचारी परिचालन गरिने छ ।