जहाजका पर्खाइमा बलेवा विमानस्थल

चैत २, गलकोट –लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने आश पलाएको छ । २८ वर्षदेखि नियमित उडान हुन नसकेको बागलुङको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रसँगै अब विमानस्थलमा कहिले जहाज उड्ला भन्ने आशामा छन् यहाँका स्थानीयवासी ।

विसं २०७७ फागुनमै कालोपत्र सक्ने गरी नागरिक उडड्यन प्राधिकरणले ठेक्का सम्झौता गरे पनि एक वर्षपछि मात्रै विमानस्थलको धावनमार्ग कालोपत्र सम्पन्न भएको छ । कच्ची धावनमार्गका कारण बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएका कारण विमानस्थल नियमितरूपमा सञ्चालनमा आउन सकेको थिएन । हवाई सेवाका लागि यात्रुको सुनिश्चितता हुँनासाथ विमानस्थलमा नियमित उडान गर्न सकिन्छ । कालोपत्र सम्पन्न भएको विमानस्थल हस्तान्तरणको प्रक्रियामा रहेको प्रधिकरणले जनाएको छ ।

विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रको काम सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा पुगेको निर्माणको जिम्मा पाएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुका प्रतिनिधि वासु थापाले जानकारी दिए । उनले धावनमार्गमा मार्किङबाहेक अन्य काम सम्पन्न भइसकेकाले हस्तान्तरणका लागि प्रक्रिया अगाडि बढाएको बताए ।

विमानस्थलको अबको समस्या भनेको यात्रु सुनिश्चितता र स्थानीयको पहलकदमी हो । स्थानीय र प्रदेश सरकारले चासो देखाएमा तत्कालै विमानस्थलमा जहाज चलाउन सकिने छ । विमानस्थलमा जहाज सञ्चालनका लागि नागरिक उडड्यन प्राधिकरणसँग नभएर एयरलाइन्ससँग आवश्यक समन्वय र सहजीकरण गर्न आवश्यक देखिन्छ ।

प्राधिकरणले निर्माण, जनशक्ति तथा प्राविधिक व्यवस्थापना गर्ने काम भएको र स्थानीय पालिका र प्रदेशले सहजीकरण गरे जहाज सञ्चालनका लागि कुनै समस्या नभएको प्राधिकरणका इञ्जीनियर मीनराज ओझाले जानकारी दिए ।
उनले भने ‘लामो समय बलेवा विमानस्थल निर्माणमा खटिँदा जहाज चल्नेमा विश्वस्त छु, खासगरी स्थानीय तह र प्रदेशले एयरलाइन्ससँग समन्वय र सम्झौता गर्न सके प्राधिकरणले आफ्नोतर्फबाट सबै काम गर्ने छ ।’