कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी

फागुन ३०, काठमाडौं – नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी भएका छन्। दोस्रो चरणको निर्वाचनमा निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई ६४ मतान्तरले पछाडि पार्दै जंगले जित हासिल गरेका हुन्।

कुल १ हजार ७८७ मतमा जंगबहादुरले ९१२ मत पाउँदा वंशलालले ८४८ मत पाएको निर्वाचन अधिकृत बेदबहादुर महतले जानकारी दिए।

यसअघि शनिबार भएको निर्वाचनमा सभापतिमा तीन जना उम्मेदवार रहेका थिए। सो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएको थियो। प्रेमध्वज लामा पहिलो चरणबाट बाहिरिएका थिए ।

पहिलो चरणमा दोस्रो भएका वंशलाललाई प्रेमध्वजले समर्थन गरेका थिए। तर पनि उनले जित हात पार्न सकेनन्।